सल्यान फागुन १३ गते ।
दाङसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उज्यालो कालीमाटी गाउँपालिका अभियान सञ्चालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा बिजुली बलेको हो । सल्यानको कालीमाटी गाउँपालिका ३ को रामपुरमा गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सनशिलता ओली डिसीले संयुक्त रूपमा विद्युतको उद्घाटन गर्नुभयो ।
एक करोड ३८ लाख रुपैयाँको लागतमा आर्थिक वर्ष २०७६र०७७ को बजेटअन्तर्गत कालीमाटीमा विद्युत् विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापाले जानकारी दिनुभयो । दाङबाट जोडिएको विद्युतले अहिले सात सय बढी घरधुरीले बत्ती बाल्न पाएको थापाले बताउनुभयो ।यसअघि वडा नम्बर १ को लक्ष्मीपुरमा झण्डै पाँच सय घरधुरीमा र ३ नम्रबको लामिडाँडाको ४० बढी घरधुरीमा बिजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताउनुभयो ।
केही सातामै चार करोड ५२ लाखको लागतमा बाँंकी रहेका वडाहरूमा विद्युतीकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ । विद्युत् सहकारी र गाउंँपालिकाको साझेदारीमा योजना सञ्चालन हुन लागेको उपाध्यक्ष सनशिलता ओली डिसीले बताइन । साथै गाउँपालिकाकै ४० लाख रुपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उहाँले जानकारी दिनुभयो ।
Discussion about this post