गुल्मी फागुन १९ गते ।
गुल्मीको रेसुंगा ३ गुल्मीकी सम्झना बोहरा खत्री गत माघ २९ गते बेपत्ता भइन्। ३० गते उनी हराएपछि माइती र परिवार पक्षले प्रहरीमा उजुरी दिए। उजुरीपछि श्रीमान नेत्रबहादुर खत्री र सासु टोमकला खत्रीलाई प्रहरीले पक्रेर थुन्यो। प्रहरी नियन्त्रणमै रहेको बेला सासु खत्रीले २९ गते राति तीनजना आएर सम्झनालाई लिएर गएको बयान दिइन्।
प्रहरीका अनुसार उनले आफू र १४ महिनाका नातीलाई थुनेर ती तीनजनाले सम्झनालाई लिएर गएका थिए। फागुन १ मा प्रहरीले सोधपुछ गरेर टोमकलालाई घर पठायो। घर गएकै राति उनले आत्महत्या गरिन्। उनले आत्महत्या गरेपछि सम्झनाका माइती पक्ष र घर पक्षबिच आक्रोश बढ्यो र प्रहरी कार्यालय घेराउदेखि धर्नासम्मका दबाबमूलक कार्यक्रम भए। त्यसपछि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सम्झनाका बाबुआमा र जेठीआमालाई नियन्त्रणमा लियो।
दुवैपक्षको तीव्र दबाब र आन्दोलनपछि प्रहरीले घटनाको निचोड निकाल्न सकेन। बेपत्ता भएका १९ दिनसम्म भएका आन्दोलन र धर्नासम्म पनि सम्झनाको अत्तोपत्तो थिएन। १९ दिनमा उनी मृत फेला परेको खबर प्रहरीले पायो र घटनाले अर्को मोड लिएको छ। क्षतविक्षत अवस्थामा सम्झनाको शव फेला परेपछि प्रहरी उनको हत्याराको खोजीमा लागेको छ भने आत्महत्या गरेकी टोमकलाको मृत्युको कारण सम्झनाका माइतीपक्ष रहेको भन्दै उनका पक्षले अर्को दबाब दिइरहेका छन्।
Discussion about this post