बुटवल फागुन २६ गते ।
पुराना टायर, ट्युब र रबरसमेत भारततर्फ चोरी निकासी हुन थालेपछि रुपन्देहीका फर्नेस आयल उत्पादन गर्ने उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । थोत्रा टायर र ट्युब पेलेर नेपालका चार उद्योगले ठूला उद्योगमा प्रयोग हुने फर्नेस आयल उत्पादन गर्दै आएका हुन् ।
तीन वर्षदेखि त्यस्ता उद्योगलाई प्रयोग हुने कच्चा पदार्थ टायर र ट्युब निरन्तर भारततर्फ चोरी निकासी हुने गरेको छ । उद्योगीले पटकपटक त्यस्तो चोरीनिकासी र तस्करी रोक्न माग गर्दै आए पनि समस्या समाधान भएको छैन । रूपन्देहीको बेलहिया नाका र वीरगन्जबाट बढी तस्करी हुने गरेको उद्योगको गुनासो छ ।
तस्करीमा प्रहरी र भन्सार कर्मचारीकै मिलेमतो हुने गरेको उद्योगीको आरोप छ । रूपन्देहीको देवदह नगरपालिका–५ केरवानीमा २०७२ सालदेखि झन्डै १६ करोड लागतमा सञ्चालित स्पिड इनर्जी इन्डस्ट्रिज प्रालिको एक प्लान्ट तीन महिनादेखि बन्द छ ।
सवारी साधनमा प्रयोग हुने टायर, ट्युब र रबर उद्योगका मुख्य कच्चा पदार्थ हुन् । तिनै पुराना सामग्रीलाई पायरोलाइसिस प्रक्रियाबाट प्रशोधन गरी फर्नेस आयल, कार्बन ब्ल्याक र स्टिल स्क्य्राब उत्पादन गर्दै आएको उद्योगलाई कच्चा पदार्थ अभाव हुन थालेको हो । फाइल फोटो
Discussion about this post