काठमाडौं चैत १ गते ।
अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने निर्णयसहित नेकपा एमालेमै फर्किएको घोषणा गरेको एक साता नबित्दै माधकुमार नेपाल पक्षले अन्ततः ओलीसँग सँगै बस्ने स्थिति लगभग समाप्त भएको निष्कर्ष निकालेको छ।
आफूलाई अलग्याएर पार्टी विधान विपरीत ओली पक्षले माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने, आफू इतरका विभागीय प्रमुखलाई हटाएर नयाँलाई जिम्मेवारी दिने र पार्टी विधानमा रहेको ७० वर्षे हदम्याद हटाउने लगायत निर्णयहरु गरेपछि ओलीसँग मिल्ने सम्भावना लगभग समाप्त भएको र कुनै चमत्कारै भएमा मात्र त्यो रोकिने यो पक्षको निष्कर्ष छ।
नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ओलीवरुद्धको अभियानमा सहकार्य गरेका नेपाल नै ओली सँगसँगै बस्ने स्थिति सकिएको निष्कर्षमा पुगेको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए। तर आफू अलग भएको निर्णय सार्वजनिक गर्नुपूर्व अझै केही दिन ओलीको कार्यशैली नियाल्नुपर्ने भन्दै नेपालले आफू पक्षीय नेता तथा कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन्। फाइल तस्वीर
Discussion about this post