काठमाडौं चैत २ गते ।
नेपाली श्रमिकको प्रमुख गन्तव्यमध्येको एक साउदी अरबमा अब कामदारले रोजगारदाता कम्पनीको अनुमतीबिनै काम परिवर्तन र मुलुक छाड्न सक्ने भएका छन्। आइतबारदेखि यो व्यवस्था लागु भएको छ। यसले साउदी अरबमा रहेका १ करोडभन्दा बढी विदेशी श्रमिक लाभान्वित हुनेछन्।
साउदी अरबले श्रम सम्बन्धी व्यवस्थामा गरेको यो सुधार अन्तर्राष्ट्रिय श्रमको क्षेत्रमा महत्वपूर्ण मानिएको छ। यसअघि रोजगारदाता कम्पनीको अनुमतीबिना अर्को कम्पनीमा जान वा त्यो देश छाड्न पाउने व्यवस्था थिएन। कामदारलाई आफ्नो नियन्त्रणमा राख्न र आफु अनुकुल बनाउन रोजगारदाता कम्पनीलाई त्यो व्यवस्थाले सजिलो भएको भन्दै चर्को आलोचना हुने गरेको थियो।
नयाँ व्यवस्थाअनुसार विदेशी श्रमिकले आफु काम गरिरहेको कम्पनीसँगको सम्झौता अनलाइनमार्फत पेश गरेर त्यहाँको सरकारी सेवामा समेत आवेदन दिन सक्नेछन्। साउदी अरब भौगोलिकरुपमा सबैभन्दा ठुलो र बढी जनसंख्या भएको खाडी राष्ट्र हो।
Discussion about this post