काठमाडौं चैत ९ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान ढाका जानुभएको हो । राष्ट्रपति भण्डारी बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गर्नुभएको छ ।
आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् । राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा मुख्य तीन वटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केहि विषय, पशुपन्क्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनका विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका शिलशिलामा छलफल हुने मन्त्री गुरुङले बताउनुभयो ।
Discussion about this post