कैलाली चैत १२ गते ।
कैलालीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ। पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। चालु आवको आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४ सय २७ नयाँ उद्योग दर्ता भइसकेका छन्।
०७५-७६ मा एक हजार २ सय ३४ र ०७६-७७ मा एक हजार १ सय १४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन्। नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २ सय ६७, कृषिका एक हजार ५ सय ९५, सेवाका ५ सय ६३ र पर्यटनका दुई छन्। कार्यालय प्रमुख नवराज भट्टले भने, ‘कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम बढेको देखिन्छ।’
यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्म सम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताए ।
कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मंगलबार गरेको दोस्रो चौमासिक अवधिसम्मको समीक्षा र सुझाव संकलन गोष्ठीका सहभागीले रोजगारी सिर्जना हुने खालका आयमूलक र सीपमूलक तालिमका योजना ल्याउन र यस्ता तालिम नतिजामुखी बनाउन सुझाव दिए। चालु वर्षको गत आठ महिनामा कार्यालयले ९३ लाख ९८ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ।
Discussion about this post