बाँके वैशाख ३ गते ।
कोरोना भाइरसको संक्रमण बढेपछि नियन्त्रणमा प्रहरी प्रशासन एक्शसनमा आएको छ । कोरोना संक्रमण तीव्र भए पनि नेपाल–भारत सीमा नाकाबाट बिना रोकटोक आवत–जावत चलिरहेको थियो। भारतमा उच्च गतिमा भाइरस फैलिँदा पनि नेपाल सरकारले नेपालगन्जस्थित सीमा नाकामा कुनै कडाइ नगरेको सर्वसाधारणको गुनासो गरिहेका थिए ।
भाइरसको जोखिम बढ्दै गएपछि भने बाँकेका एसपी एक्शनमा आएका छन् । एसपी ओम रानाले जमुनाह नाकामा पुगेर आउजाउमा कडाइ गरेका छन् । त्यहाँ डोरी लगाइएको छ । नयाँ वर्ष र चैते दसै मनाउन भारतका विभिन्न सहरबाट यतिखेर ठूलो संख्यामा नेपाली घर फर्किरहेका छन्। सीमा नाकामा सामान्य स्वास्थ्य जाँच गर्नेबाहेक अरू कुनै सावधानी अपनाएको नपाइएपछि एसपी राना आफै खटिएका हुन् ।
केही सातायता भारतबाट दैनिक एक हजारदेखि २ हजारसम्म नेपाली नागरिक फर्किने गरेका छन्। रानाले भने, ‘भारतमा काम गरेर फर्किने नेपालीको संख्या धेरै छ, घर जान आएकालाई हामीले कसरी रोक्नु र रु सीमा नाकामा एउटा हेल्थ डेक्स राखिएको छ, त्यहाँ अनिवार्य रूपमा स्वास्थ्य जाँच गरिन्छ।’ सीमा नाका हुँदै सवारीसाधन आवत–जावतमा भने रोक लगाइएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार बसेको ‘जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र’ को बैठकले विभिन्न निर्णय गरेको थियो। त्यही अनुसार सीमा नाकामा कडाइ गर्ने तथा अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने र भारतबाट आउनेको अनिवार्य जाँच गर्न सुरु गरिएको हो ।
Discussion about this post