बाँके वैशाख २३ गते ।
यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।
त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ। उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने अनुमान गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन्। यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ। जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरी सार्वजनिक गरेको हो।
औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ। विभागका उपमहानिर्देशक डा अर्चना श्रेष्ठ गत वर्ष बाढी पहिरोले क्षति पुर्याएको ठाउँमा र भूकम्पले असर गरेको क्षेत्रमा यसपाली पनि विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।
विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायू सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जलतथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायू दृष्टिकोण मञ्चको आँकलनको आधारमा उक्त निष्कर्ष निकाली सार्वजनिक गरेको जनाएको छ।
Discussion about this post