बाँके जेठ २५ गते ।
बाँके युनेस्को क्लबले कोरोनाले गर्दा अत्याधिक आर्थिक संकटमा परेर जिविका चलाउन समस्या भएका नेपालगञ्ज उपमहानगरपालिका भित्रका ३६५ विपन्न परिवारलाई खाद्यान्न राहात वितरण गर्न शुरु गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको ‘समुदायका लागि खाद्यान्न सहयोग कार्यक्रम’ अन्तर्गत उपमहानगरपालिकासंगको समन्वयमा सो खाद्यान्न राहात वितरण शुरु गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले सो खाद्यान्न राहात वितरण कार्यको मंगलवार शुभारम्भ गर्नुभयो ।
सो अवसरमा बोल्दै मेयर राणाले कोभिडले गर्दा आर्थिक अवस्था कमजोर भएका समुदायका यति धेरै अति विपन्न परिवारलाई ठुलो परिमाणको खाद्यान्न वितरण गरिएकोमा युनेस्को र प्लानप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले यो राहातले प्लान स्पोन्सर विपन्न परिवार र अन्य विपन्न परिवारलाई केही महिनासम्म जिविका चलाउन ठुलो सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर, कोषाध्यक्ष बुधेश जयसवाल, कार्यसमितिका सदस्य फिरदौस जहाँ लगायतले पनि खाद्यान्न वितरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन क्लबका अनुप बर्माले गर्नु भएको थियो ।
खाद्यान्न वितरण गरिएका हरेक परिवारलाई १३ हजार ४९५ रुपियाँ बराबरको सय केजी चामल, २५ केजी मसुरोको दाल, ५ लिटर खाने तेल, ६ केजी नुन, चिनि ५ केजी, मटर, चना र सिमिको दाल ५–५ केजी र १५ वटा साबुन वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले ३६५ विपन्न परिवारलाई ४९ लाख भन्दा बढी मुल्यको खाद्यान्न वितरण गरिने बताउनुभयो ।
खाद्यान्न सहयोग पाउनेहरुमा नेपालगञ्ज १७, १८, १९ र २२ का अति विपन्न परिवार बाहेक वडा नम्बर १ स्थित समाज विकास तथा प्रवद्र्धन केन्द्रको अनाथालयमा रहेका ९ जना अनाथ बालिका र वडा नम्बर ४ स्थित नेपालगञ्ज कन्या विद्यालयका ४० जना छात्राहरु पनि रहेको क्लबले जनाएको छ ।
खाद्यान्न राहात पाउनेहरुमा २९३ परिवार प्लान स्पोन्सर विपन्न परिवार र ७२ परिवार अन्य विपन्न परिवार रहेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
Discussion about this post