बाँके असार २ गते ।
तीन दिन देखिको बर्षाका कारण बाँकेमा ठाउँठाउँमा बाढी र डुवानको जोखिम बढेको छ। राप्तीनदीमा पानीको सतह बढेपछि तटिय क्षेत्रका बस्ति डुवानको जोखिममा परेका हुन् । कुसुम जलमापन केन्द्रका अनुसार, राप्तीनदीमा पानीको सतह ५ दशमलव २ मिटर पुगेको छ ।
राप्तीनदीमा पानीको सतह ६ मिटर पुग्यो भने राप्तीसोनारी, नरैनापुर र डुडुवाका तटिय क्षेत्रका बस्ति डुवानमा पर्छन् । मानखोलामा पनि पानीको सतह सतर्कता तह पार गरेको छ । पानीको सतह बढ्ने क्रममा रहेकाले तल्लो तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कताका लागि जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सुचना अधिकारी रुपन ज्ञवालीले आग्रह गर्नुभएको छ ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा आज पनि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Discussion about this post