बाँके असार ५ गते ।
डिभिजन वन कार्यालय बाँकेले यो वर्ष साढे पाँच लाख बिरुवा उत्पादन गरेको छ । उत्पादन गरिएका बिरुवा यही असार १६ गतेबाट वितरण गरिने डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो ।
यो गत वर्षभन्दा करिव दुई लाखले बढी हो । गुणस्तरियता र उपभोक्ताको मागका आधारमा विरुवा उत्पादन गरिएको पनि उहाँले बताउनुभयो । वन डिभिजनले मसला, सागवान, सिंसौ, खयर, बुकाइनो, मरिङ्ग, निम, अमला लगायका बिरुवाहरु उत्पादन गरिएको उहाँको भनाइ छ ।
जिल्लाको ६ स्थानमा बिरुवा उत्पादन गरी बितरण गर्ने तयारीमा वन कार्यालय छ । डिभिजन वन कार्यालय बाँकेमा ३ लाख, राँझा सव डिभिजनमा ३० हजार, कोहलपुर सव–डिभिजनमा ७० हजार, राप्तीसोनारीको मेहमानपुर सवडिभिजनमा १ लाख, सिक्टा सबडिभिजनमा ३० हजार र नरैनापुर सबडिभिजनमा २० हजारगरी पाँच लाख ५० हजार बिरुवा उत्पादन गरिएको छ ।
तीमध्ये एक लाख विरुवा भने अर्को आर्थिक वर्षमा वितरण गरिने क्षेत्रीले बताउनुभयो । विरुवाको संरक्षण भने चुनौतिपूर्ण देखिएको छ । प्रमुख क्षेत्रीले विरुवा संरक्षणमा उपभोक्ताको भूमिका बढी हुने बताउनुभयो । गत वर्ष डिभिजन वन कार्यालयले ३ लाख ६५ हजार ३ सय ५० बिरुवा बितरण गरेको थियो ।
Discussion about this post