फाइल तस्वीर
बर्दिया असार १३ गते ।
वर्षामा कर्णालीको भेल कति बेला बढ्छ भन्ने टुंगो हुन्न । बर्दियाको राजापुर नगरपालिका–३ तिहुनीका प्रह्लाद भट्टलाई वर्षायामका धेरैजसो रात निद्रा लाग्दैन । टर्च बालेर कर्णाली नदीको जलस्तर हेर्न पुग्छन् । विगतमा बाढीले ठूलो क्षति पुर्याएकाले बर्खा लाग्यो कि तर्सिन्छन् ।
कर्णाली उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले पिरोलिने गरेको उनले बताए । स्थानीय सुरेश चौधरीको दिनचर्या उनको भन्दा फरक छैन । पानी पर्न थाल्यो कि बाढीको अवस्था बुझ्न कर्णाली तटमा पुग्छन् । ‘रातभरि निद्रा पर्दैन,’ उनले भने, ‘कर्णाली नदी व्यवस्थापन कार्यालयले तटबन्ध बनाउन ढिलासुस्ती गरेकाले यस भेगबाट बाढी पस्ने उच्च जोखिम छ ।’
भट्ट र चौधरीजस्तै यहाँका बासिन्दा लगातार पानी पर्नासाथ रातभर जाग्राम बस्ने गरेका छन् । बाढी पस्नासाथ सुरक्षित स्थानमा आश्रय लिनुपर्ने भएकाले त्रास रहन्छ कतिपयले वर्षायाम सुरु भएयता नागरिकता, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा र खाद्यान्न नभिज्ने गरी पोको बनाएर राखेको भट्टले बताए ।
कर्णाली नदीमा तटबन्धको काम ढिलासुस्तीले बर्दिया राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । कर्णाली तटबन्ध व्यवस्थान आयोजनाले २०७५ भित्र कर्णाली र गेरुवा नदीमा ४३ किमि तटबन्ध गर्नुपर्ने थियो ।
तर सात वर्ष बितिसक्दा पनि कर्मचारीको निष्क्रियताका कारण तटबन्धले गति लिन नसकेको स्थानीय शंकर थारूले गुनासो छ । नदी कटान र बाढीले बर्सेनि सयौं बिघा जग्गा बगाउने कर्णाली नदीमा तटबन्ध निर्माण सम्पन्न गर्न गुरुयोजनाअन्तर्गत काम सुरु भएको हो ।
‘काम पूरा गर्दा करिब ११ अर्बको लागत आउने अनुमान थियो । कर्णालीमा तटबन्धको काम थालिएपनि पर्याप्त बजेट नआउँदा काममा ढिलाइ भएको आयोजना प्रमुख धर्मकुमार न्यौपानेको भनाइ छ ।
Discussion about this post