बाँके असार १८ गते ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जले पुनः सेवा सुरू गरेपनि झण्डै दुई महिनादेखि ठप्प रहेको लाइसेन्सको प्रयोगात्मक परीक्षाको भने अझै टुङ्गो लाग्न सकेका छैन ।
दोस्रो लहरको कोरोना भाइरस फैलिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ९ गतेदेखि नेपालगन्जमा र जिल्लामा बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।
योसँगै यातायात व्यवस्था कार्यालय नेपालगन्जले सम्पूर्ण सेवा बन्द गरेको थियो । पछिल्लो केहि समयदेखि कोरोना संक्रमण दरमा कमी आउन थालेपछि निषेधाज्ञा खुकुलो बनाउँदै विभिन्न क्षेत्रहरु विस्तारै खुल्न थालेका छन् ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जले पनि सवारी साधनको नवीकरण, दर्ता तथा नामसारीलगायतका सेवाहरू पुनः सुरू गरेको छ । तर झण्डै दुई महिनादेखि ठप्प रहेको सवारी चालक अनुमती पत्र लाइसेन्सको प्रयोगात्मक परीक्षाको भने अझै टुङ्गो लाग्न सकेका छैन ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त प्रमुख पूर्ण खत्रीले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरूको पालना गरी सवारी साधनको नवीकरण, दर्ता तथा नामसारीलगायतका सेवाहरू पुनः सुरू गरिएको बताउनुभयो ।
Discussion about this post