दाङ साउन १ गते ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट प्रदेशसभाबाट फेल हुने निश्चित भएपछि मध्यराती प्रदेशसभाको अधिवेशन अन्त्य गराएको छ । बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जानु अघि बहिस्कार गरेर प्रदेशसभा बाट बाहिरिनुभएका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौ अधिवेशनको अन्त्य गराउनुभएको हो ।
चालु प्रदेशसभाको अधिवेशनमा बजेट प्रस्तुत भएपछि छलफलको प्रक्रिया पुरा गरेपछि हिजो सभामा सांसदहरुले उठाएका बिषयमा सम्बन्धित विभागिय मन्त्री सहित मुख्यमन्त्री पोखरेलले जवाफ दिनुभएको थियो ।
मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सभामुख मार्फत थप छलफलका लागि समय समेत माग गर्नुभएको थियो । सभामुख पुर्ण घर्तीले छलफल गर्न विपक्षी सांसदहरुसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभाहलबाट बाहिरिनुभएको थियो ।
मुख्यमन्त्री पोखरेल बाहिरिएसँगै सत्तापक्षका सबै सांसदहरु बैठक कक्ष छाडेर बाहिरिएपछि सभामुखले आढा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । सत्तापक्षको सदन बहिस्कार पछि आज दिउँसो १ बजे सम्मका लागि सभामुखले बैठक स्थगित गरेकोमा मुख्यमन्त्री पोखरेलले मध्यराती सभाको अधिवेशन नै अन्त्य गर्नुभएको छ ।
मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । असार ३१ को मन्त्रिपरिषदको बैठकको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भईआए अनुसार चालु आठौं अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post