काठमाडौं साउन ३ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ ।
सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ । एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए ।
तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नयाँ निर्णय भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ ।
सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यो सबै मत आउँदा पनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन ।
एमालेको माधवकुमार नेपाल समूहले मत दिने सम्भावना छ । संविधानको धारा ७६ (५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले साथ दिएका थिए ।
प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १४६ सांसदमा एमालेका २३ जना थिए । फाइल तस्वीर
Discussion about this post