काठमाडौं भदौ २७ गते ।
पश्चिमी भू–भागमा आज वर्षा हुने सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् समीर श्रेष्ठ बताउँछन् ।
देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।
“काठमाडौं उपत्यकामा आज दिउँसो र साँझपख छिटपुटदेखि सामान्य वर्षा हुने सम्भावना रहेको छ,” मौसमविद् श्रेष्ठ भन्छन् ।
आज राति देशभर आँशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको छ ।
नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु पर्ने मौसमविद् श्रेष्ठ बताउँछन् । हाल नेपालको मौसमी प्रणालीमा भारतको पूर्वी राजस्थान आसपासमा रहेको न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकाले भारी वर्षाको सम्भावना न्यून भएको हो ।
Discussion about this post