जावेद अन्सारी
बाँके असोज १० गते ।
नेपालगन्जको त्रिभुवन चोकमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी अढाइ वर्षीया अनावीया राइको न्यायको माग गर्दै नेपालगन्जमा प्रदर्शनसँगै सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
मुस्लिम महिला संघ र अखिल नेपाल महिला संघको आयोजनामा त्रिभुवन चोकबाट निकालिएको र्यालीले दवाव स्वरुप सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टलाई ज्ञापनपत्र बुझाएको हो ।
मुस्लिम महिला संघका केन्द्रीय सदस्य कास्मिरा खातुनले अनावीयालाई न्याय नमिलेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।
दोषीलाई पहिचान गरेर तत्काल कारवाही गर्न माग समेत गर्नुभयो । उहाँले नगरको सुरक्षाको लागि जडान गरिएका सिसिक्यामेरा तत्काल मर्मत गर्न आग्रह गर्नुभयो ।
अर्की महिला अगुवा तारा रोकायले घटनाको एक महिना पुग्दा समेत दोषी पक्राउ नहुनु आश्चर्यको बिषय भएको बताउनुभयो । उहाँले सिसिक्यामेराहरु चुस्तदुस्त गराउन आग्रह गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले दोषीलाई पहिचान गरेर कारवाही गर्ने सवालमा प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अघि बढाएकाले दोषी पक्राउ पर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
उहाँले विग्रीएका सिसिक्यामेरा मर्मतका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।
गएको भदौ ७ गते त्रिभुवन चोकमा मोटरसाइकलको ठक्करबाट अनावीयाको मृत्यु भएको थियो ।
Discussion about this post