काठमाडौं कार्तिक ६ गते ।
लाहिरु कुमारा र वानिन्दु हर्शरंगाको उत्कृष्ट बलिङमा नेदरल्यान्ड्लाई हराउँदै श्रीलंका समूह विजेता बनेको छ । योसँगै समूह ‘ए’को श्रीलंकाले टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेदरल्यान्ड्लाई ८ विकेटले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
कुशल परेराले ३३ रन बनाउँदा नेदरल्यान्ड्सले दिएको ४४ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा पूरा गर्यो । नेदरल्यान्ड्ले १० ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन बनाएको थियो ।
बलिङतर्फ नेदरल्यान्ड्सका लागि बर्नान्डो गोलेभर र पाउल भान मिकेराले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कोलिन अर्कमानले ११ रन बनाउँन बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ श्रीलंकाका लागि लाहिरु कुमारा र वानिन्दु हर्शरंगाले समान तीन–तीन विकेट लिए । महेश ठेकास्नाले दुई विकेट लिँदा दुश्मान्थ चामेराले एक विकेट लिए ।
आजको खेलमा श्रीलंकाले सहज जित निकाल्दै श्रीलंका ६ अंकका साथ सुपर–१२ मा आफूलाई बलियो टोलीको दाबेदारी दिएको छ । नामिबिया भने ४ अंकका साथ समूह उप–विजेता बन्यो ।
यता नेदरल्यान्ड्सले तीनै खेलमा जित निकाल्न सकेन । योसँगै सुपर–१२ को समूह ‘ए’मा अष्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘बी’को उपविजेता बंगलादेश र समूह ‘ए’को विजेता टोली श्रीलंका एकै समूहमा छन् ।
त्यस्तै समूह ‘बी’मा अफगानिस्तान, भारत, न्युजिल्यान्ड, पाकिस्तान, समूह ‘बी’को विजेता स्कटल्यान्ड र समूह ‘ए’को उप–विजेता नामिबिया एकै समूहमा छन् ।
Discussion about this post