कर्णाली कार्तिक ९ गते ।
कर्णालीका किसानलाई अर्को बालीका लागि बिउ जोगाउनै मुस्किल परेको छ । खाद्य संस्थानकै भरमा बाँच्न वाध्य कर्णालीका बासिन्दाको भित्राउन ठिक्क पारिएको अन्न बाली बाढी–पहिरोले बगाउँदा अर्को बाली लगाउने बिउ जोगाउन मुस्किल परिरहेको छ ।
कर्णालीका किसानहरुले लगाएको मार्सि धान, मुरी धान, कोदो, फापर, सिमीलगायत अन्नबाली बाढी–पहिरोले बगाउँदा अर्को बाली लगाउन बिउ जोगाउन मुस्किल परेको हो । कति अन्नबाली खेतमै उम्रिएको, कति अन्नबाली माटोमा मिसिएको र कति बाढी–पहिरोले बगाएको छ ।
लगातारको वर्षाले कर्णालीका १० ओटै जिल्लामा असर परेको छ । ४८ हजार हेक्टर क्षेत्रफलमध्ये ११ हजार पाँच सय हेक्टर क्षेत्रफलको धानबाली क्षति भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
यस्तै अन्य अन्नबालीको यकिन विवरण नआइसकेको जनाइएको छ । कर्णाली प्रदेश सरकारले कृषकलाई कस्तो खालको सहयोग गर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन ।
कर्णाली प्रदेश मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव राजकुमार श्रेष्ठ कृषकहरुको हकमा अहिले कुनै निर्णय नगरेको बताउनुभयो ।
Discussion about this post