बाँके पुस १३ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले साक्षर कक्षा संचालन गर्ने तयारी गरेको छ । १५ देखि ६० वर्षका मानिसलाई ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिन लागिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।
त्यसका लागि १ सय ३० जना बाल शिक्षिकालाई तयार गरिएको छ । सबै वडाअनुसार निरक्षरको तथ्यांक निकाल्ने र कहाँ कति वटा कक्षा सञ्चालन गर्नुपर्छ भन्ने फाइनल गरिँदै छ । फाल्गुन मसान्तभित्र नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी भएको छ ।
यो अभियानका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ । निरक्षरलाई कम्तीमा आफ्नो नाम लेख्ने, हस्ताक्षर गर्ने र अलि–अलि पढ्न सक्ने बनाइँदै छ । सामाजिक सुरक्षा भत्ता लिन जाँदा ल्याप्चे लगाउन नपरोस् भन्ने उद्देश्यले साक्षर कक्षा संचालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
उनीहरुलाई बाल शिक्षिकाहरुले ४५ दिन पढाउने छन् । नेपालगन्ज उपमहानगरपालिकामा १५ हजार मानिस निरक्षर रहेको तथ्यांक छ । दुई वर्षअघि सर्वे गर्दा नेपालगन्जमा २० हजार मानिस निरक्षर रहेकोमा अहिले १५ हजार निरक्षर रहेको बताउनुभयो ।
Discussion about this post