बाँके माघ ५ गते ।
बाँके प्रहरीले आज नेपालगन्जका तीन ठाउँमा सरप्राइज चेकिङ गरेको छ । राँझा विमानस्थल, बसपार्क र जमुनाह नाकामा कुकुरसहितको सरप्राइज चेकिङ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँके र तालुक कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर)को संयुक्त टोलीले चेकिङ गरेको हो ।
बिस्फोट पदार्थबाट हुन सक्ने आपराधिक घटना नहोस् भन्ने उद्देश्य र अर्कोतर्फ लागु औषध नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ। लभ र व्यूटी नामक कुकुरले चेकजाँचमा प्रहरीलाई सघाएका थिए ।
भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ आवत जावत गर्ने सवारी साधन, विमानस्थल र बसपार्कका यात्रुलाई संयुक्त रुपमा चेकजाँच गरिएको उहाँको भनाइ छ ।
कर्णाली प्रदेश प्रहरी केनाईन शाखाका प्रहरी निरीक्षक बासुदेब सुवेदीले खासगरी कुकुरबाट हुने चेकजाँचमा हत्या, लुटपाट र लागु औषध तस्करहरु पक्राउ गर्न सहज हुने बताउनुभयो । यसअघि चाडपर्वका बेला कुकुरसहितको चेकिङ हुने गरेको थियो ।
Discussion about this post