खोजखबर संवाददाता बाँके असोज ९ गते । नेपालगन्ज सदरमुकामबाट पुर्वमा पर्ने नरैनापुर गाउँपालिका चुरे पर्वतको हरियाली, सौन्दर्यता र निलो आकाशमा देखिने सेतो बादल प्रष्टै देखिन्छ । मोटरसाईकल, बस,गाडीको यात्रामा नेपालगन्ज काटेपछि पूर्वका ग्रामिण भेगहरुमा भेटिने स्थानीय हिन्दु, मुस्लिम, थारु, मधेशी, जनजाती समुदायका धार्मिक, सास्कृतिक, भेषभुषा, बोलीभाषा,रहनसहन, बसोबासले जोसुकैलाई मोहित बनाउँछ ।
बाँके जिल्लाको कर्णाली नाममा दिएको बघौडा क्षेत्र नेपालगन्जदेखि पुर्वमा ४५ किलोमिटर दुरीमा छ । डुडुवा गाउँपालिकाको राप्ती नदि काट्दै, यहाँका हरियाली खेती, लस्कर चरानमा जादै गरेका पशुचौपाय, साईकलमा हिडदै गरेका ग्रामिण मानिसको आवाजतवात हेर्दै र नियाल्दै राप्तीसोनारी सकिन्छ । त्यसपछि बाँकेको कर्णाली उपनामले परिचित नरैनापुर अर्थात बघौडा प्रवेश गर्छ । केही समय पहिला विकट मानिने नरैनापुर अहिले भने हुलाकी सडकको पक्की सडकमा सरर चिसोचिसो हावा छिचोल्दै पुगिन्छ । बाटोभरि भेटिने यहाँका मधेशी, मुस्लिम, जनजाती, थारु समुदायका दिनचर्या, दैनिक, खेतीपाती, घरबसोबास र पशुचौपायको दृश्यले लठ्ठै पार्छ ।
नरैनापुर गाउँपालिका क्षेत्रमा दर्जनौ आन्तरिक र बाह्य पर्यटन घुम्नै पर्ने दुई दर्जन बढी स्थान छन् । तीमध्ये महत्वपूर्ण स्थानमा पन्नहवादेवी स्थान समेत रहेको छ । नरैनापुर १ को कटकुईयास्थित पन्नहवा सामुदायिक वनको ४० विगाह क्षेत्रफलमा पन्नहवादेवी स्थान रहेको छ । हुलाकी राजमार्गदेखि उत्तर ५ किलोमिटर दुरीमा रहेको यो स्थान ३०० बर्ष पुरानो रहेको मान्यता छ । ३०० बर्ष पहिले भारतबाट आएका टमाटर महाराजले यो पन्नहवादेवी स्थानको निर्माण गरेका थिए । यहाँ दर्शन गरेको व्यक्तिमा भलाई हुने र मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ ।
यो क्षेत्रमा विभिन्न ६ वटा मन्दिर रहेका छन् । मन्दिरको चारैतिर २५ देवताका मुर्तिहरु सजाएको छ । भारतीय र नेपालीहरु आवतजावत गर्ने यो स्थानमा असार पूर्णिमाको दिन भौरी मेला लाग्ने गरेको नरैनापुर १ का वडाअध्यक्ष मोल्हे बहेना शेषले बताउनुभयो । यो क्षेत्रमा दैनिक जंगली जनावर बाघ, चित्तल, बदेल, चितुवाजस्ता जंगली जनावर समेत आसपासमा आउने गर्छन् । यज्ञस्थल, कुटी र कुण्डहरु यहाँ निर्माण गरिएका छन् ।
शिवलिङ्ग, गणेश, हनुमान, कन्यादेवी, कन्हैलाल, शिव पार्वती, हात्ती, वनदेवी, नागमाता, रामलक्ष्मण, सीता, टमाटरबाबा, तुल्सीदास, शिवरीमाता, सरस्वती, विष्णु, वनशक्ति, ऋषिगण, कालीस्थान, देवलोक, परीलगायतका मुर्तिहरु रहेको वडाअध्यक्ष शेषले भन्नुभयो । यहाँ हात्ती, बाघ, सिँह जस्ता जनावरका पनि मुर्तिहरु राखिएका छन् । चारैतिर तारवार गरिएको र बगैँचा समेत रहेकोले पन्नहवादेवी स्थान नरैनापुरकी पर्यटकिय आकर्षण रहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । मन्दिरका रुपमा रामलक्ष्मण मन्दिर, टमाटरबाबा मन्दिर, ब्राह्मपुजा मन्दिर, कालीकास्थान, हनुमान मन्दिर रहेका छन् । कटकुईयामै रहेको पन्नहवा देवी स्थान सबैभन्दा प्रसिद्ध र घुम्नैपर्ने स्थल रहेको बस्नेतको भनाई छ ।
४० विगाह क्षेत्रमा फैलिएको यो पर्यटकिय स्थल ३ सय बर्ष पुरानो मानिन्छ । आफूले चाहेको र ईच्छाएको मनकामना पुरा हुने विश्वास गरिने यो पन्नहवा देवी स्थान नेपाल र भारतमा प्रसिद्ध छ । ६ वटा मन्दिर र २५ देवीदेउताका मुर्तिहरु यहाँ कुदिएका छन् ।
गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले पन्नाहवादेवि स्थानको विकासका लागि काम भैईरहेका जानकारी दिनुभयो ।बाँकेको दुर्गम क्षेत्र राप्तीपारि नरैनापुर सडक, विद्युत, भरपर्दो स्वास्थ्य सेवाको अभावले वर्षौंदेखि पिछडिएको भएपनि पर्यटकिय क्षेत्रले भने सम्पन्न रहेको अध्यक्ष शाहको भनाई छ ।
यहाँ मन्दिर र मस्जिद धार्मिक स्थलहरु अत्याधिक रहेका छन् । धार्मिक, जातीय, प्राकृतिक, साँस्कृतिक र भौतिक सम्पदा अत्याधिक रहेका छन् । नरैनापुरमा एकपटक घुमफिर गरेपछि यो क्षेत्र धार्मिक रुपमा पवित्र स्थलका रुपमा ब्याख्या गर्न सकिन्छ । यो स्थानमा जिल्लाकै धेरै पर्यटकिय स्थान रहेको धार्मिक पर्यटकिय गन्त्वयका रुपमा समेत विकास गर्न सकिन्छ ।
Discussion about this post