बारा चैत ४ गते ।
बारामा तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जस्थित आयल निगमभित्र एक ट्यांकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ना ४ ख २६५६ नम्बरको पेट्रोल ट्यांकरबाट अनलोड गर्न पार्किङ गरी राखेको गाडीमा आगलागी भएको हो । ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरी, सेना र दमकलले आगो नियन्त्रणमा लिएको थियो।
ट्यांकर सहचालक ३० वर्षीय लक्ष्मण श्रेष्ठ गम्भीर घाइते भएका थिए। भारत गोरखपुर घर भई आयल निगममा इलेक्ट्रिसियनको काम गर्ने २५ वर्षीय रामलखन प्रजापती सामान्य घाइते छन्।
उनीहरूको सुरूमा अल्पाइन अस्पताल सिमरामा उपचार गरिएको थियो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौं ल्याइएको थियो।
उपचारको क्रममा श्रेष्ठको शुक्रबार मृत्यु भएको थापाले बताउनुभयो । उनको कीर्तिपुर अस्पतालमा बिहान ८ बजे मृत्यु भएको हो।
Discussion about this post