
खोजखबर संवाददाता बाँके असोज ११ गते । बाँके कारागारमा बन्दि बनाइएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य भरत बम “रणबीर”लाई कारागारभित्रै कुटपीट गरिएको छ । कारागारभित्र लागुऔषध ओसारपसारको विरुद्ध बोलेको भन्दै उनलाई विभिन्न लागुऔषध तथा तस्करीमा संलग्न कैदीहरुले कुटपिट गरेका हुन् । कारागार हेर्ने अधिकृत सरहका जेलर भरतराज पाण्डेकै मिलिमतोमा त्यहीका चौकीदार भरत फडेरा र कारागारभित्र रासन तथा सामान ओसारपसार गर्ने मान बहादुर शाहीले कारागारभित्र लागुऔषध ओसारपसार गरिरहेको थाहा पाएपछि त्यसको विरुद्धमा विप्लव नेकपाका नेता भरत बलमे बिरोध गरेका थिए । त्यसपछि कारागारका चौकीदार भरत फडेरा र कारागारभित्र रासन पानीसँगै लागुऔषध ओसारपसार गर्ने मान बहादुर शाहीको संलग्नतामा कैदी शेर बहादुर कसेरा, गगन शाही, नमराज केसी लगायतले उनलाइ कुटपिट गरेका श्रोतले जानकारी दिएको छ । शुक्रबार साँझतिर कारागारभित्र चौकीदार र अरु कैदीहरुलाई लगाएर रड समेत प्रयोग गरेर उनलाई कुटपिट गरिएको र अहिले त्यहाँ कसैलाई भेट गर्न नदिइएको श्रोतको भनाई छ । तर बाँके कारागार प्रशासनले भने कुटपीट भएको कुरा अस्वीकार गरेको छ । क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण विवाद भएपनि कुटपीट नभएको बाँके कारागारमा कार्यरत नायब सुब्बा दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
Discussion about this post