बाँके चैत २९ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल गर्ने भन्ने पार्टीको निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसद्वारा देशब्यापीरुपमा आयोजित स्थानीय चुनाव लक्षित एक महिने ’घर घर जाऔं– कांग्रेस जिताऔं’ अभियानको आज बाँकेमा समापन गर्दै गिरीले स्थानीय अवस्था र आवश्यकतालाई मूल्यांकन गरेर चुनावी गठबन्धन गर्ने पार्टीको आधिकारिक निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताए ।
केन्द्रीय प्रतिनिधिका रुपमा बाँके खटिएका गिरीले सत्ता साझेदार अन्य दललाई सम्मानजनक स्थान दिएपनि कांग्रेस बलियो भएको ठाउँमा अरुलाई छोड्न नसकिने बताए । उनले झिनामसिना कुरामा अल्झेर नबस्न आग्रह गर्दै एकता कायम गरेर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरे ।
अर्का केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री सञ्जय गौतमले स्थानीय तहका उम्मेदवार टुंग्याउने जिम्मा पार्टी विधान अनुसार नै दिनुपर्ने बताउँदै तालमेलको व्यवस्थापन स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिए । गौतमले केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुने अवस्था बने आम कार्यकर्ताको भावनाको सम्मान हुने बताए ।
उनले पार्टीले तल्लो तहका कार्यकर्ताहरुको भावनाको सम्मान गर्नुपर्नेमा जोड दिए ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै अन्य बक्ताहरुले स्थानीय अवस्थालाई मध्यनजर गर्दै तालमेलको निर्णय गर्ने अधिकार सम्बन्धित तल्ला कमिटीलाई नदिए चुनावी गठबन्धन जोखिमपूर्ण हुने बताए ।
कार्यक्रममा सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी सभापति युवराज शर्मा, पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, प्रदेश प्रतिनिधिद्वय पुष्पलाल श्रेष्ठ र पुष्पा श्रेष्ठ, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला), महासमिति सदस्य फुलाराम थारु, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, क्षेत्र नम्बर १ का निवर्तमान सभापति माधवराम खत्री, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरी, ३ (ख) का सभापति राजेन्द्र आचार्य, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, राप्तीसोनारी सभापति भिम बहादुर राना क्षेत्री र नेविसंघका अध्यक्ष पूर्ण आचार्यले बोलेका थिए ।
समापन कार्यक्रम सभापति गौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्जु कुमारी थारुले गरेकी थिइन् । कार्यक्रममा नेपालगञ्जका सन्तोष गुप्ता र सोनाली गुप्तालाई केन्द्रिय सदस्य गिरीले पार्टी प्रवेश गराएका थिए ।
Discussion about this post