
सल्यान,असोज ११ गते । युवाहरुको व्यक्तिगत, संस्थागत, सामाजिक र आर्थिक सशक्तिकरण गरि सुशासन प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले सल्यानमा युवा मञ्च गठन गरिएको छ । हरेक वडाबाट कम्तीमा एउटा युवा क्लवको प्रतिनिधीत्व हुने गरी जिल्लाका स्थानिय तहहरुमा पालिका स्तरिय मञ्च गठन गरिएको हो ।
सिद्ध कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकामा पालिका स्तरिय युवा मञ्च गठन गरिएको सुशासनका लागी नागरिक सहभागीता कार्यक्रमका जिल्ला संयोजक जि.एस. नेपालीले जानकारि दिए । लगत्तै कालिमाटी र दार्मा गाउँपालिकामा पनि यस प्रकारको मञ्च गठन गरिने उनले जनाए । सिद्धकुमाख गाउँपालिकामा विरेन्द्र वोहोरा संयोजक र प्रतिमा मगर सदस्य सचिव रहेको ९ सदस्यीय युवा मञ्च गठन गरिएको छ ।
यस्तै त्रिवेणी गाउँपालिकामा भरत केसी संयोजक र पुष्पकमल विष्ट सदस्य सचिव रहेको ९ सदस्यीय मञ्च र कपुरकोटमा सागर शर्मा संयोजक र यमुना बुढा मगर सदस्य सचिव रहेको ७ सदस्यीय युवा मञ्च कार्यसमिती गठन गरिएको नेपालीले बताए । एक जना पछि थप हुने गरी खड्ग थापा, दुर्गा घर्ती, सुवाश पुन र भुमिसरा साहु सदस्यमा चयन भएका छन् ।
युवा मञ्चको बैठक हरेक दुई महिनामा एक पटक बस्ने छ । नागरिकलाइ अधिकारप्रति सचेत बनाउने, युवा उद्यमशिलतालाई प्रोत्साहन गर्ने, नागरिक चासोलाइ सम्बोधन गर्न स्थानीय सरकार लगाएतका सरोकारवाला निकायहरुलाइ दवाव दिने जस्ता कार्य मञ्चले गर्ने छ ।
नीति तथा कानुन निर्माण, योजना तर्जुमा र कार्यान्वयन, योजनाको अनुगमन तथा मूल्याङ्कन एवम् प्रतिफल वितरण तथा प्राप्तिमा युवा सहभागिता जरुरी रहेकाले यस कार्यका लागी जिल्लामा गठन भएका युवा मञ्चका समितीले महत्वपूर्ण भुमिका खेल्ने सुशासनका लागी नागरिक सहभागीता कार्यक्रमले जनाएको छ ।
विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने कुरा नेपालको संविधानमा उल्लेख गरिएको छ ।
यस्तै स्थानीय सरकार संचालन ऐन २०७४ मा पनि गाउँपालिका तथा नगरपालिकाको योजना तर्जमा तथा कार्यान्वयन गर्दा युवाहरुको अधिकतम सहभागिता हुनुपर्ने व्यवस्था रहेको छ ।
Discussion about this post