बाँके बैशाख २९ गते ।
स्थानीय तहको निर्वाचन–२०७९ स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन पत्रकारलाई मतदान र मतगणनाका क्रममा सहजरुपमा समाचार संकलनको वातावरण निर्माण गरिदिनुहुन सम्बन्धित सबै निकायसंग नेपाल पत्रकार महासंघ बाँके माग गर्दछ ।
भयरहित र स्वतन्त्रपूर्वक समाचार संकलन गर्न दिन, छिटोछरितो र प्रभावकारीरुपले सूचना उपलब्ध हुने गरी आवश्यक पर्ने सबैखाले संयन्त्र सक्रिय बनाउन महासंघले यसअघि नै सम्बन्धित निकायको ध्यानार्कषण गराएको स्मरण गराउन चाहान्छौं ।
आमनागरिकको प्रत्यक्ष चासोको बिषय भएको र सञ्चारमाध्यमबाटै सूचना पाउने भएकाले सरोकारवाला निकाय पत्रकारलाई प्रभावकारी सूचना समयमै उपलब्ध हुने वातावरण बनाउन गम्भीर हुन जरुरी छ ।
साथै सम्पूर्ण पत्रकारलाई आफ्नो तर्फबाट निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउने कार्यमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं । निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबैपक्षलाई खबरदारी गर्दै सञ्चारकर्मी र सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा पनि संवेदनशिल र बिशेष ख्याल गर्न आग्रह छ ।
मतदानको दिन समाचार संकलनको लागि सहज हुने गरी प्राप्त भएका सवारी अनुमतिपत्रको प्रयोजनप्रति संवेदनशिल हुन र जुन उदेश्यले अनुमतिपत्र लिइएको हो त्यसबिपरित कुनै पनि कार्य नगराउन पनि सम्पूर्ण पत्रकारलाई महासंघ बाँके ध्यानार्कषण गराउँदछ ।
अन्यथा सदस्यको हकमा महासंघको विधान बमोजिम कारवाही हुने र प्रचलित कानून बमोजित कारवाही हुँदा महासंघ जवाफदेही हुने छैन ।
Discussion about this post