बाँके जेठ ९ गते ।
रोल्पा कारागारमा मृत्य भेटिएका बाँकेका सुन्दर हरिजनका परिवारले घटनाको छानवीनको माग गरेका छन् । न्यायको माग गर्दै उनीहरुले नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन चमारको रोल्पा कारागारमा केहीदिन अघि ‘शंकास्पद’ मृत्यु भयो ।
कारागारको रेकर्डमा भने उनको नाम विजय विक्रम शाह देखियो । कर्मचारीले मृत्युबारे खबर गरेपछि परिवारका सदस्यहरु अलमलमा परे । रोल्पा पुगेर परिवारले शवको पहिचान गरेपछि मात्र मृतक ब्यक्ति सुन्दर नै भएको पुष्टी भयो । विजय विक्रमको नाममा परिवारले सुन्दरको शव बुझेर नेपालगन्ज ल्याए । मृतकको शव अहिले नेपालगन्जमा छ, तर परिवारले दाहसंस्कार गर्न मानेका छैनन् ।
परिवारले कारागारभित्र सुन्दरको सट्टा विजय विक्रम कसरी लेखियो भनेर चासो राखेपछि घटना रहस्यमय बनेको छ । चोरी र ‘नकदजनी’ चोरी मुद्दामा सुन्दरले जेल सजाय पाएका थिए । कारागारमा सजाय काट्न बाँकी रहेका विजय विक्रम सुन्दरको नाममा छुटे ।
विजय विक्रमको नाममा सजाय काटिरहेका सुन्दर पाँच दिनअघि रोल्पा कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको हो ।
मृतकका परिवारले कर्मचारीको मिलेमतोमा सुन्दरलाई अर्काको नाममा जेलमा राख्ने काम गरेको र मृत्यु हुनुमा पनि कसैको संलग्नता रहेको आरोप लगाएका छन् ।
मृतकका दाई राजकुमारले भाईको मृत्यु भएको र कारागारका कर्मचारीले विजय विक्रमलाई कागजी रुपले जवरजस्ती आफ्नो भाई बनाउन खोजेको बताउनुभयो ।
कारागार ब्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईको संयोजकत्व छानविन समिति बनाइसकेको छ । छानविनका लागि संयोजक चापागाई नेपालगन्ज आइपुग्नुभएको छ ।
Discussion about this post