बाँके जेठ १७ गते ।
रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई सोमबार प्रतिवेदन बुझाएको छ ।
कारागार विभागले जेठ ६ मा विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सुरुमा समिति गठनबारे केही विवरण सार्वजनिक नगरेकामा गत शनिबार मात्र गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले चापागाईंको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको सार्वजनिक गरेका थिए ।
नाबालक रहेकै अवस्थामा नेपालगन्जका हरिजनलाई कारागार पठाइएको र जघन्य अपराधमा मुछिएका सुर्खेतका विजयविक्रम शाहलाई छुटाएर हरिजनलाई शाहको सजाय भुक्तान गर्न लगाइएकोबारे कान्तिपुरमा शनिबार समाचार प्रकाशित भएको थियो ।
त्यसपछि गृहले सार्वजनिक रोष रोक्नकै लागि पहिले नै गठन भएको समितिबारे ८ दिनपछि विज्ञप्तिमार्फत जानकारी दिएको थियो । १० दिनको कार्य समय दिएर गठन भएको समितिले सोमबार १० औं दिन प्रतिवेदन बुझाएको हो ।
समिति संयोजक चापागाईंले हरिजनको मृत्यु आत्महत्याबाटै भएको देखिएको, शाह जेलबाट हरिजनको नाममा भागेको तर उनको सजाय हरिजनले नै भोग्दै गरेको पाइएको बताए ।
‘हामीले घटनास्थल मुचुल्का र पोस्टमार्टम प्रतिवेदन हे¥यौं । कैदी र सुरक्षाकर्मीसँग कुराकानी गर्नुका साथै घटनास्थल अवलोकन ग¥यौं । शौचालयमा भित्रबाट चुकुल लगाएको अवस्थामा झुन्डिएकाले मृत्यु आत्महत्याबाटै भएको हाम्रो ठहर छ,’ प्रतिवेदनबारे जानकारी दिँदै संयोजक चापागाईंले भने, ‘तर, हरिजन अहिलेसम्म पनि जेलमा रहनुपर्ने व्यक्ति होइनन् ।
जेलमा रहनुपर्ने शाह भागेको र उनको सट्टामा हरिजन जेलमा रहेको पाइयो । यो कसरी हुन गयो भन्नेबारे शाह पक्राउ परेपछि धेरै कुरा खुल्नेछ ।’
Discussion about this post