बाँके जेठ १७ गते ।
चार महिना देखि मासिक तलव नपाएको भन्दै आन्दोलनरत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् ।
चार महिनादेखि मासिक तलव र करिव एक वर्षदेखि प्रोत्साहन भत्ता नपाएको चिकित्सकहरुको गुनासो छ । गएको विहीबार अस्पताल प्रशासन अगाडि हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना बस्दै आएका उनीहरुले आन्दोलनलाई थप सशक्त पार्दै ओपिडी सेवा पनि आंशिकरुपमा बन्द गरेका छन् ।
व्यवस्थापन पक्षले आफ्नो माग सम्वोधनमा चासो नदिएको भन्दै उनीहरुले आधा दिनको काम छाडेका हुन् । नेपालगन्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा चिकित्सकहरु आन्दोलनमा उत्रिएको परिषद्का अध्यक्षमा डा विनोद महासेठले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक छन् ।
अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिलेपनि अस्पतालमा परिरहेकाले समयमा तलवभत्ता दिन नसकिएको बताउनुभयो ।
Discussion about this post