काठमाडौं असार २१ गते ।
अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्यामा संलग्न एक संदिग्धलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको हो । हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ ।
इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । संदिग्धले उच्च क्षमताको राइफलले परेडमा सहभागीलाई गोली हानेका थिए । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् ।
आक्रमणपछि मानिसको भागदौड हुँदा घटनास्थलमा झोला, जुत्तालगायतका सामाग्री यत्रतत्र छोडेको देखिन्छ । गोलाबारीमा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बारम्बार बन्दुक आक्रमण हुने अमेरिकामा शिकागो हमला पछिल्लो सामूहिक गोलाबारी हो । पछिल्लो हमलाबाट आफू स्तब्ध भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । एजेन्सी
Discussion about this post