काठमाडौं असार २२ गते ।
कुनै समय विश्व विजेता अलेक्जेण्डर द ग्रेटका सेनाले भारत आक्रमणपछि आफ्नो देश फर्किन प्रयोग गरेको बाटो ‘मकरान मार्ग’ अहिले समुन्द्र तटीय राजमार्गमा बदलिएको छ । यो राजमार्गलाई कैयौँले दक्षिण एसियाको सबैभन्दा सुन्दर र मनमोहक मार्ग मान्छन् ।
मध्य कराँचीबाट ३० किलोमिटर पश्चिम र बलुचिस्तान प्रान्तको सिमानामा पाकिस्तानको आतङ्कवाद विरोधी दस्ताका सिपाहीहरू मलाई पर्खिरहेका थिए ।
हातमा एके–४७ बोकेका सिपाहीले हाम्रो कारनजिक आएर मेरो राहदानी र ‘नो अब्जेक्सन सर्टिफिकेट’ जाँच गरे । पाकिस्तान सरकारले विदेशीहरूले देशको संवेदनशील क्षेत्रहरूमा यात्रा गर्नुअघि नो अब्जेक्सन सर्टिफिकेट नामको परमिट लिनुपर्ने व्यवस्था गरेको छ ।
मेरो कागजातबाट सन्तुष्ट भएपछि तिनले म, मेरो गाइड र आतकंवाद विरोधी स्क्वाडका सदस्यहरूलाई अघि बढ्न अनुमति दिए । हामीहरू केही गाडीमा सवार भएर त्यही मकरन तटतर्फ जाँदै थियौँ । सो बिन्दुबाट म इरानी सिमानासम्मको सडक यात्रा गर्दै थिएँ ।
गाडी अगाडि बढिरहँदा मेरो गाइड अमिर अक्रमले दशकौँसम्म, मकरान अझ सम्पूर्ण बलुचिस्तान विदेशीहरूको लागि मात्र होइन यो प्रान्तबाहिरका पाकिस्तानीहरूबाट पनि अलगथलग रहेको सुनाइरहेका थिए । पहिले यो क्षेत्र पृथकतावादी आन्दोलनकारी र इस्लामिक चरमपन्थीको नियन्त्रणमा हुन्थ्यो ।
‘त्यतिबेला म आफैँ यहाँ आउन हिम्मत गर्न सक्दिनथेँ । तर आजकल बलुचिस्तान सेनाको नियन्त्रणमा छ र हामी सुरक्षित छौँ,’ अक्रमले भने ।
कुराकानीको क्रममा अक्रमले हामी जाँदै गरेको क्षेत्रलाई पाकिस्तानको सबैभन्दा सुन्दर, मैत्रीपूर्ण र सांस्कृतिक रूपमा सम्पन्न क्षेत्रको संज्ञा दिए । हाम्रो गाडी राष्ट्रिय राजमार्ग नम्बर १० मा हुइँकिरहेको थियो । सामान्यतया मकरान कोस्टल हाइवे (मकरन तटिय राजमार्ग) भनेर चिनिने यो सडकमार्ग करिब ५८४ किलोमिटर लामो छ । सडक इरानको सिमानासम्म पुगेको छ ।
यस राजमार्गको यात्रालाई दक्षिण एसियाको सबैभन्दा रोमाञ्चक यात्रा पनि मानिन्छ । किनकि सडकमार्गको अधिकांश हिस्सा अरब सागरको किनारबाट गुज्रिएको छ ।
यात्रुहरूले सडकबाट अरब सागरको निलो र चम्किलो पानी र फाट्टफुट्ट देखिने डुङ्गा हेर्दे सयर गर्न सक्छन् । सडकबाट अरब सागरमा देखिने डुङ्गाहरू समुद्री इल, गँगटो, लोबस्टर खोज्ने नाबिकहरुका हुन् ।
‘शताब्दीयौँदेखि माछाको व्यवसायले मकरानको अर्थतन्त्रको धान्दै आएको छ,’ अक्रमनले बताए । मकरान नाम आफैँमा फारसी भाषाको ‘माछा खानेहरू’ जनाउने शब्दको अपभ्रंश हो । आज पनि मकरान क्षेत्रको प्रमुख व्यवसाय मानिन्छ, माछा व्यवसाय । तथापि अहिले स्थानीय मानिसहरू प्रयोगहीन जहाजलाई टुक्र्याउनेदेखि तस्करीमा समेत संलग्न हुन थालेका छन् ।
कराँचीबाट लगभग २०० किलोमिटर टाढा हामी राजमार्गको पहिलो मुख्य गन्तव्यमा पुग्यौँ । पाकिस्तानको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हिंगोल राष्ट्रिय निकुञ्ज हेर्दा टेलिभिजनमा देखाइने चन्द्र धरातलजस्तो देखिन्थ्यो ।
यो भूबनोटमा मकरानमा आउने बलियो समुद्री हावा र तातो तावाजस्तो चर्को गर्मी तथा भारी वर्षाको प्रभाव छ । हामी पार्कको परिधिभित्र उकालो–ओरालो हुँदै एक बिलकुल फरक ठाउँमा पुग्यौँ । त्यहाँ दुईवटा ज्वालामुखी छन् र त्यस ज्वालामुखीबाट तातो लाभाको सट्टा माटो निस्कने गर्छ ।
अक्रमका अनुसार बलुचिस्तान र सिन्ध प्रान्तबाट दसौँ हजार हिन्दु धर्मावलम्बीहरू ‘माता हिंगलाज’ को दर्शन गर्न यहाँ आउँछन् ।
‘तिर्थालुहरु माता हिंगलाजको दर्शन गर्नुअघि यहीँ ज्वालामुखी वरपर मैनबत्ती बाल्छन् र खाल्डोमा नरिवल फाल्छन् । त्यसपछि उनीहरू आफूले गरेका पापलाई कराएर भन्छन् र नजिकको हिंगोल नदीमा स्नान गर्छन् । शारीरिकरूपमा सक्षम व्यक्ति केही पर रहेको हिंगलाज माताको मन्दिरमा जान्छन्,’ अक्रमले यस क्षेत्रको धार्मिक परम्पराबारे बताए ।
हामी बिस्तारै चिसो र अँध्यारो उपत्यकाको गहिराइतर्फ अघि बढ्यौँ । त्यहाँ ढुङ्गाको छाना मुनि झिलिमिली सिसाको बक्समा हिङ्लाज माता रेखदेख गर्ने महाराज गोपाल नामका एक वृद्ध भद्र व्यक्तिलाई भेट्यौँ । उनले हामीलाई मन्दिरको कथा सुनाउनु अघि बस्न भन्न आग्रह गरे ।
हामी बसेपछि गोपालले कथा सुरु गरे, ‘पहिलो युग अर्थात् सत्ययुग मानवजातिको पहिलो युग थियो । करोडौँ वर्षअघिको त्यहीँ समयमा देवी सतीको मृत्यु भयो । उनको पार्थिव शरीर सबै टुक्राहरू पृथ्वीमा खसेका थिए जसमध्ये अधिकांश भाग भारतमा खसेको थियो । तर उनको टाउकोको एक भाग भने यहाँ मकरानमा खस्न पुग्यो । जहाँ जहाँ सतीको शरीरको टुक्रा खस्यो ती सबैलाई शक्तिपीठ अर्थात् देवीहरूको सबैभन्दा पवित्र पूजास्थल भनिन्छ ।’
हामी गोपालका मिथकीय कथा सुनिरहेका थियौँ । उनी अगाडि भन्दै गए, ‘अहिले हामी चौथो र अन्तिम युगमा छौँ । यो युद्ध अन्त्य भएपछि मकरानलगायत सम्पूर्ण विश्व नष्ट हुन्छ ।’
कथा सकिएपछि उनले मुस्कुराउँदै नरिवलको प्रसाद दिए र हामी सबैलाई अगाडिको यात्राको लागि शुभकामना दिए । त्यहाँबाट अघि बढेपछि हामीले बाटोमा पर्ने एक पुरानो चट्टानी किल्ला पार गर्यौँ ।
यस भ्रमणको क्रममा हामीले पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा न्यून जनसङ्ख्या भएको प्रान्तमा जीवनका दुर्लभ झलकहरू देख्न पायौँ । कहिले किसान गधामा चढेर टाढाको बजारमा हिँडेको देखिन्थ्यो । कहिले गाउँका केटाहरू बालुवा र धुलोको अस्थायी पिचमा क्रिकेट खेलिरहेको देखिन्थे ।
त्यसपछि राजमार्ग ओरालो लाग्न सुरु भयो जुन ड्राइभिङ क्षमताका लागि परीक्षा साबित भइरहेको थियो । तर हामीलाई भन्दा बढी गाह्रो यही बाटोमा हिँडिरहेका रङ्गिन ट्रक चालकहरूलाई परिरहेको थियो ।
भारी सामान लादेर हिँडेका यी ट्रकमा ‘खराब शक्ति’को प्रभाव कम गर्नका लागि विभिन्न प्रकारका मालाहरू झुण्ड्याइको देखिन्थ्यो ।
‘अहिले यो चिल्लो अलकत्राको सडकमा त यात्रा गर्न चुनौतीपूर्ण छ । अलेक्जेण्डर द ग्रेटको पालामा उनका सेनाले पैदल र घोडामा चढेर यो कठोर भूभाग पार गरेका थिए । ३२५ ईसापूर्वमा भारतबाट आफ्ना ३० हजार सिपाहीहरू लिएर फर्किएका अलेक्ज्याण्डरले यही बाटो प्रयोग गरेका थिए । कठोर गर्मीको कारण उनको सेना बेबिलोन (आजको इराक) पुग्दा आधा मात्र बाँकी थियो,’ अक्रमले इतिहासमा चर्चा हुने यो कथा सुनाए ।
मकरानको अहिलेको राजमार्ग अलेक्जेण्डर द ग्रेटले प्रयोग गरेको मार्ग हो भनेर व्यापक विश्वास गरिन्छ, यद्यपि यो निश्चित रूपमा पुष्टि गर्न भने सम्भव छैन ।
अहिलेको मकरान तटीय राजमार्ग चाइना–पाकिस्तान इकोनोमिक कोरिडोरको हिस्सामा गणना गरिन्छ । र यसले पछिल्लो समय चीनको पाकिस्तानमा बढ्दो चाखलाई प्रतिबिम्बित गर्दछ ।
ग्वादर बन्दरगाहबारे पाकिस्तानमा सन् १९९० को दशकदेखि नै चर्चा सुरु भएको थियो । चीनले पाकिस्तान हुँदै खाडी मुलुकका तेल देश भित्राउने योजना बनाएपछि यसले मूर्त रूप पाउने सम्भावना झनै बढ्यो । त्यसपछि पाकिस्तानले सन् २००२ देखि सन् २००४ बीचमा ग्वादर बन्दरगाह बन्ने स्थान र कराँचीबीच यो सडक बनायो । यसले दुई दिनको यात्रा लाग्ने यो दुरी ६÷७ घण्टामा छोट्यायो ।
हाम्रो अन्तिम बिसौनी इरानी सिमानाभन्दा ५० किलोमिटर पूर्वमा रहेको जिवानी सहरमा थियो । यसको मुख्य सडकहरुमा बलुचिस्तानको पुरानो आदिवासीका मुखियाहरुमध्ये एक पगडीधारी सरदारका मूर्तिहरु देखिन्थे । ती जातीय समुदायमा आफ्नो जेठो छोरालाई पगडी लगाएर शक्ति हस्तान्तरण गर्ने परम्परा थियो ।
हामी त्यहाँ विभिन्न प्रकारका शाही स्मारक खोज्न थाल्यौँ । तिनमा बेलायती महारानी भिक्टोरियाको भ्रमणको समयमा विशेष उनकै लागि निर्माण गरिएको भनिएको भवन पनि थियो । अहिले सो सानो घर पाकिस्तानी तट–रक्षकको दोस्रो बटालियनको नियन्त्रणमा छ ।
भवनमा सर्वसाधारणका लागि प्रवेश निषेध छ, तर धेरै अनुरोधपछि पाकिस्तानी सेनाका कप्तानले हामीलाई सुरक्षासहित अरब सागरको किनारमा रहेको दरबार हेर्ने अनुमति दिए ।
पाकिस्तानी फौजका कप्तानले हामीलाई यस भवनको इतिहास पनि सुनाए । उनका अनुसार तत्कालीन महारानी भिक्टोरियाले मकरानको सुन्दर सूर्यास्तको बारेमा सुनेकी थिइन् । त्यसैले उनको भ्रमणको लागि भने सन् १८७६ मा यो भवन बनाइएको थियो ।
तर इतिहासकारका अनुसार भिक्टोरिया मकरन कहिल्यै यहाँ आएकै छैनन् । तर यस भेगका वृद्ध स्थानीय भने भिक्टोरिया यहाँ आइपुगेको दाबी गर्छन् ।
महलभित्र तीनवटा साना कोठाहरू थिए, एउटा शयन कक्ष, भोजन कक्ष र बैठक कोठा । भवन अहिले पुराना सामानमध्ये टेलिफोन लाइन र यस्तै एक दुई कुरा मात्र मौलिक सामाग्री मात्र बचेका छन् ।
अहिले यो भवनलाई तटीय गार्डहरूले तस्करी रोक्न लागि प्रयोग गर्छन् । ग्रिन टी पिउँदै कुरा गर्ने क्रममा पाकिस्तानी सेनाका कप्तानले तस्करीले यस भेगमा ठूलो रूप लिएको बताए ।
यस समुद्री मार्गबाट मुख्यतः पेट्रोलियम तस्करी भए पनि लागू औषध र हातहतियार पनि तस्करी हुने गरेको उनले बताए । यो स्थान ओमानको खाडी हुँदै हुने तस्करीमाथि निगरानी राख्न उत्तम रहेको ती सैन्य अधिकारीले बताए ।
हामीलाई सूर्यास्त हुने समयसम्म रोकिने अनुमति थिएन । सेनाका क्याप्टेनले नजिकैको जीवनी तटको एक स्थानबाट राम्रो सूर्यास्त देखिने बताए । हामी त्यहाँ पुग्दा हजार किलोमिटर टाढाको शिवि सहरबाट आएको एक समूह सूर्यास्त हेर्दै थियो ।
‘यस्तो अद्भुत सूर्यास्त हेरेपछि यति लामो बाटो तय गरेर आएको पनि व्यर्थ महसुस भएन । मैले यहाँ(मकरान)जस्तो सूर्यास्त आजसम्म अन्त हेरेको थिइनँ । सूर्य अस्ताउनुअघि आकाश धेरै वटा सुन्दर रङ्गमा बदलिँदो रहेछ । पहेँलो रङ्ग बिस्तारै सुन्तले रङ्गमा बदलिँदै गएर रातो र अन्तिममा बैजनी रङको यो परिवर्तन कति अद्भुत । सूर्यास्तपछि हामीले अल्लाहसँग उनको कृपाले फेरि अर्को बिहान सूर्य उदायोस् र हामी सो दिन देख्न जिउँदो होऊ भन्ने प्रार्थना गयौँ,’ एक जना आगन्तुकले सूर्यास्त हेरेपछि भावुक हुँदै हामीसँग भने । एजेन्सी
बीबीसीका लागि फ्रिल्यान्सर सिमोन वीरविनको आलेख
Discussion about this post