बाँके असार ३० गते ।
कोहलपुर नगरपालिकाको न्युरोड चोकमा चक्काजाम गरिएको छ । बुधबार साझ नेपालगन्ज मेडिकल कलेजको बसले ठक्कर दिदा एक जनाको मृत्यु भएपछि आफन्तहरुले दोषीमाथि कारबाहीको माग गर्दै चक्काजाम गरेका हुन् ।
होटेल अतिथि नजिकैको चोकमा भे १ क १२५ नम्बरको बसले भे ४ प ३२५३ नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ११ एनटिभीका ६० वर्षीय रामबहादुर थापाको मृत्यु भएको थियो । दक्षिणबाट उत्तरतर्फ गइरहेका थापालाई पूर्वबाट पश्चिमतर्फ गइरहेको नेपालगन्ज मेडिकल कलेजको बसले ठक्कर दिएको थियो ।
बसका चालक बैजनाथ गाउँपालिका– १ का पदमबहादुर बुढा र बसलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । बस चालकसँग लाइसेन्स नभएको बुझिएको छ । मृतक थापाका आफन्तहरुले दोषीमाथि कारबाहीसहित पिडितलाई राहत दिनुपर्ने माग गरेका छन् । विवाद समाधानको लागि बिहीबार विहानैदेखि वार्ता भइरहेको छ।
मेडिकल कलेजमा वार्ता भइरहेको बेला बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो। पछि इलाका प्रहरी कार्यालयमा वार्ता भएपनि सहमति हुन सकेन । सहमति नभएपछि घटनाको विरोधमा चक्काजाम गरिएको हो । न्युरोड क्षेत्रमा अहिलेपनि सुरक्षाकर्मी परिचालित छन् भने मृतक थापाका आफन्त भने आन्दोलित छन् ।
Discussion about this post