बाँके फागुन २१ गते ।
नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज रिपेन्द्र कुमार सिंहले आफ्नो कार्यकालमा भए गरेका कामहरुबारे पत्रकारहरुलाई जानकारी गराएका छन् । हालैमात्र सरुवा भएका सिंहले आफ्नो कार्यकालमा भएका कामहरुको जानकारी गराएका हुन् ।
वडा प्रहरीको नेतृत्व सम्हाल्दा समेत उनले पत्रकारसँग अन्तरक्रिया गरेका थिए भने सरुवा भएर जानु पूर्व पनि पत्रकार अन्तरक्रिया गरेका हुन् । यसअघिका इन्चार्जहरुले आउँदा पत्रकारसँग अन्तरक्रिया गर्ने गरेको भएपनि सरुवा हुँदा भने सुटुक्क जाने गरेका थिए । पत्रकार अन्तरक्रियामा दिइएको जानकारी अनुसार वडा प्रहरीमा आएका अधिकांश उजुरी मिलापत्रमा टुंगीएका छन् । गएको बैशाख २ गतेदेखि हालसम्म ७३२ उजुरी परेकोमा ५९३ उजुरी मिलापत्रमा टुंगीएको सिंहले बताए ।
यस्तै १३९ निवेदनमाथि अनुसन्धान भइरहेको पनि उनले बताए । अधिकांश उजुरी झै झगडा, चोरी, ठगी, सवारी दुर्घटनाका पर्ने गरेको उनको भनाइ छ । यस्तै यो अवधिमा वडा प्रहरी कार्यालयले ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको छ । भन्सार छलिको खाद्यान्न, लत्ताकपडा, मोटरसाइकलका पार्टस, सूर्तिजन्य बस्तु लगायत बरामद भएको छ । यसरी बरामद गरिएको सामानबाट २० लाख बढी राजश्व उठेको छ ।
वडा प्रहरी कार्यालयले विभिन्न चोरी सम्वन्धि ४८ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको पनि इन्चार्ज सिंहले बताए । यस्तै ठगिका १२ जना, लागु औषधका २० जना, गुण्डागर्दी गर्ने ३२ जना, अभद्र व्यवहारमा ५ जना गरी १३३ जनालाई जिप्रका बुझाइएको छ । योअवधिमा ९४ जना फरार अपराधीलाई पनि वडा प्रहरी कार्यालयले पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भइ कैदभुक्तान नगरेका उनीहरु वडा प्रहरी कार्यालयको फन्दामा परेका हुन् ।
Discussion about this post