काठमाडौं असोज २४ गते । तीन दिने भारत र नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जीनपिङ चेन्नाई प्रस्थान गरेका छन् । आज विहान उनी बेइजिङबाट चेन्नाई प्रस्थान गरेका हुन् । उनले आजै तमिलनाडु राज्यको महाबलीपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।
तमिलनाडुका बासिन्दाहरुलाई आकर्षित गर्नका लागि मोदीले चिनियाँ राष्ट्रपतिसँगको भेटका लागि उक्त स्थान चयन गरेको अनुमान गरिएको छ । सी को स्वागतका लागि महाबलीपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बढाइएको छ ।
सडकहरु मर्मत गरेर चिटिक्क पारिएको छ । अक्टोबर चारदेखि माछा मार्ने काम पनि बन्द गराइएको छ । दुवै नेता आर्थिक सम्बन्ध बढाउन तथा आपसी आशंका निवारण गर्ने प्रयासमा छन् ।
मोदीले भारत प्रशासित कश्मीरको संवैधानिक हैसियत बदल्ने निर्णय लिएपश्चात् दुई देशका सरकार प्रमुखबीच भेटवार्ता हुन लागेको हो । चीनले भारत तथा पाकिस्तानलाई वार्तामार्फत् कश्मीर विवाद समाधान गर्न आह्वान गर्दै आएको छ ।
भारतले भने चीनलाई उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको छ । भारत जानुअघि चिनियाँ राष्ट्रपति सी ले बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका थिए । भारतको भ्रमणपछि राष्ट्रपति सी भोली अपरान्ह काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
Discussion about this post