बाँके फागुन २५ गते ।
मिर्गौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । हाम्रो शरीरमा दुई वटा मृगौला हुन्छन् । मिर्गौला ढाडपट्टी मेरुदण्डको दायाँ र बायाँ करङहरूको तल समान अवस्थामा रहेको हुन्छन् । कलेजोको कारण दाहीने मिर्गौला देब्रे मिर्गौलाको अवस्थितिको हिसाबले केही तल हुन्छ ।
मिर्गौलाले हाम्रो शरीरमा के काम गर्छ ?
मिर्गौलाले २४ सै घण्टा रगत सफा गर्नको लागी एक सफाइ मेसिन जस्तै काम गर्दछ । मिर्गौला भित्र लाखौंको संख्यामा नेफ्रोन भनिने फिल्टर कोषहरू हुन्छन् जसले एक दिन भरीमा करिब २ सय लिटर रगत फिल्टर गर्ने क्षमता राख्दछन् । जसबाट शरीरले निम्न कार्यहरू सम्पन्न गर्दछ ।
● रगतमा भएका बिकार तत्वहरूलाई फिल्टर गरी शरीर बाहिर फाल्ने ।
● शरीरमा पानी तथा तरल पदार्थको सन्तुलन गर्ने ।
● नुन, पोटासियम जस्ता तत्वहरूको सन्तुलन कायम गर्ने ।
● शरीरमा अम्ल र क्षारको सन्तुलन कायम गर्ने ।
● रक्तचाप सन्तुलन गर्ने ।
● राता रक्तकोषिकाहरु बनाउन आवश्यक जिवरस उत्पादन गर्ने ।
मिर्गौला किन फेल हुन्छ ?
जब मिर्गौलाको फिल्टर गर्ने क्षमतामा ह्रास आउँछ तव शरीरमा फोहोर तथा तरल पदार्थहरू जम्मा हुन थाल्दछ। र यस्तो शारीरिक अवस्थालाई मिर्गौला फेल हुन लागेको संकेत मानिन्छ । जब मिर्गौलाले पूर्णरुपमा आफ्नो कार्य सम्पादन गर्न सक्दैन र सो कामको लागि अतिरिक्त उपचार पद्धतिहरु जस्तैः डायलाइसिस, प्रत्यारोपण जस्ता बिधिहरु अपनाउनु पर्ने हुन्छ । मिर्गौला फेल हुने धेरै कारणहरु छन्। जसमध्ये मधुमेह, उच्च रक्तचाप, नियमित पिसाबनली तथा मिर्गौलाको संक्रमण, पेन किलर तथा अन्य औषधिहरुको अनियन्त्रित प्रयोग, वंशाणुगत कारणले पनि मिर्गौला फेल हुने गर्छन् ।
मिर्गौला फेलको उपचारात्मक विकल्प
मिर्गौलाफेल भइसकेपछि शरीरलाई नियमित संचालन गर्न उपचारात्मक विकल्पहरुको अवश्यकता पर्दछ । नेपालमा मृगौला फेल भएका बिरामीका लागि प्रत्यारोपण र डायलाइसिस दुबै सेवा निः शुल्क उपलब्ध छन् ।
के हो डायलाइसिस ?
डायलाइसिस भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो । मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन । शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलाइसिस सुरु गराउनुपर्ने हुन्छ । मिर्गौलाले काम गर्न छोडेपछि डायलाइसिस गरिन्छ । मिर्गौलाले गर्ने काम कृतिम तरिकाबाट मेसिनद्वारा गर्ने काम भनेको नै डायलाइसिस हो । मिर्गौलाले नियमित रूपमा गर्नुपर्ने यो काम जब गर्न सक्दैन त्यसपछि मेसिनको सहारा लिइन्छ अर्थात डायलाइसिस गराउन आवश्यक हुन्छ ।
डायलाइसिस मुख्य गरि दुई प्रकारको हुन्छ
१ हेमोडायलाइसिस
हेमोडायलाइसिसमा शरीरबाट रगत निकालेर मेसिनमा पठाउने र मेसिनले रगत शुद्धीकरण गरी शरीरमा पठाउने गरिन्छ ।
२ पेरिटोनियल डायलाइसिस
पेरिटोनियल डायलाइसिस अनुसार डायलाइसिस गर्दा मिर्गौलारोगीको पेटमा पाइप राखिन्छ। पेटभित्र गएको पाइपमा पानी हालिन्छ । त्यो पानी परिवर्तन भएर शरीरबाट फोहोर पदार्थ निकालिदिन्छ । पेटमा सर्जरीमार्फत् प्लास्टिकको ट्युव (क्याथेटर) राखी त्यसमा पानी (डायलासेट) पठाएर रगत शुद्धिकरण गर्ने विधि पेरिटोनियल डायलाइसिस हो ।
मिर्गौलाको सुरक्षा कसरी गर्ने ?
– नियमित चिनी जाँच तथा रगतमा चिनिको मात्रा नियन्त्रण गर्ने किनकी चिनी रोगीहरुमा ५० प्रतिशत भन्दा बढी मृगौला फेलियर हुने सम्भावना हुन्छ ।
–मोटोपन नियन्त्रण, सन्तुलित र सक्रिय जीवनशैली अपनाउनु अर्को मिर्गौला बचाउने उपाय हो ।
–शरीरमा पानीको मात्र सन्तुलित राख्नु तथा आवश्यकता अनुसार –पानी पिउने मृगौलालाई सुरक्षा गर्न अर्कोमा उपायमा पदर्छ ।
–धुम्रपान, मध्यपान तथा खैनीसूर्ती त्याग्नु पनि मृगौला बचाउनु नै हो ।
–अत्यधिक औषधिको प्रयोग तथा दीर्घरोगीहरुमा मुखबाट प्रयोग हुने औषधिहरु नियन्त्रण गर्नु मृगौला बचाउन अर्को उपाय हो । भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो त्यसैले तपाईले पनि आफ्नो मृगौला कस्तो छ भनेर एक पटक जाँच गर्ने की ? मिर्गौला के हो भनेर थाहै नभएको समुदायलाई एक शिक्षित र सभ्य नागरिकको हैसियतमा यहि मिर्गौला दिवसको अवसर पारेर बुझाई दिने की ?
Discussion about this post