
असोज २४ गते । सिन्धुपाल्चोक को इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँचजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य २५ जनाको उपचार भइरहेको काभ्रेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
दुर्घटनामा ५० बढी घाइते भएको अनुमान गरिएको छ। बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको जनाएको छ । मृतकमध्ये पाँचजनाको सनाखत भएको छ।
इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको सनाखत भएको काफ्लेले बताए। उनका अनुसार अन्य एकजनाको भने सनाखत हुन सकेको छैन।
दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखभ भएकाले मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ।
घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भइरहेको छ।
Discussion about this post