खड्क सुनार मुगु असोज २६ गते । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मुगुमा पनि विभिन्न कार्यक्रम गरि मनाइने भउको छ । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन आज जिल्ला प्रशासन कार्यालय मुगुमा औपचारिक रुपमा छलफल गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति मुगुको आयोजना र जिल्लाका सरोकारवाला निकायसँगको समन्वयमा मुगुमा पनि सप्ताह व्यापी रुपमा दिवस मनाउने तयारी गरिएको छ । अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔँ, आधाभुत सेवा प्रवाहबाट जोगाऔँ भन्ने नाराका साथ दिवस पहिलो दिन छलफलको कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनु भयो । ४ दिन सम्म नेपाली सेना लाई जिल्ला समन्वय समितिको हलमा प्रशिक्षण गराईने , विपद व्यवस्थापन सम्बन्धि जनचेतना मुलक रेडियो कार्यक्रम लगायत अन्य कार्यक्रम गरिने घिमिरेले बताउनु भयो ।
हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारीखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ । बिभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठि इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणका लागि यस दिवसको महत्व धेरै छ । प्राकृतिक प्रकोपसंग हामी जुध्न सक्दैनौं, हामीले केवल पूर्वतयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानीलाई न्यूनिकरण मात्र गर्न सक्ने प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई रहेको छ । यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुबै तहको समान सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ ।
Discussion about this post