बाँके साउन २२ गते ।
बाँकेमा करिब ११ लाख मूल्यका अखाद्य बस्तु नष्ट गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले गत आर्थिक वर्ष २०७९/८० मा ५८५ वटा विभिन्न फर्मको अनुगमन गर्दा दश लाख ७४ हजार १० रुपैयाँको खान अयोग्य सामान नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देविलाल चौलागाईले गत वर्ष विगतका वर्ष भन्दा धेरै अखाद्य सामग्री नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले अनुगमनको क्रममा २८१ वटा फर्म र पसल मापदण्ड विपरीत रहेको पाइएकाले कारबाही गरिएको बताउनुभयो ।
कार्यालयले गरेको ५८५ फर्मको अनुगमनका क्रममा २६५ वटा पसल र फर्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ । सूचना अधिकारी चौलागाईका अनुसार कार्यालयले फर्म अनुगमनका क्रममा मापदण्ड पालना नगरेको पाइएका फर्मलाई ७ लाख ३५ हजार जरिवाना गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा बाँकेमा ३ वटा वस्तु नमूना परीक्षणका लागि लिइएको थियो भने ४ वटा फर्मको कारोबार रोक्का गरी शिलबन्द गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले गत आर्थिक वर्ष २०७९/८० मा ४२ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा ४२ लाख ६६ हजार ३ सय ५० रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ ।
सो अवधिमा ३५ वटा विभिन्न फर्मलाई जरिवाना गरिएको जनाइएको छ । गत आर्थिक वर्षमा ८९७ प्राइभेट फर्म र ३२ साझेदारी फर्म नवीकरण भएका छन् । नवीकरणबाट १२ लाख ३१ हजार ७ सय ५० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षमा कुल १ हजार ८ सय ८४ वटा फर्मले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसँग सम्बन्धित दर्ता, नवीकरण र खारेजीको काम गरेको सो कार्यालयले जनाएको छ ।
Discussion about this post