काठमाडौं भदौ २९ गते ।
प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परेका छन्।
मोरङ, सुन्दरहरैचा नगरपालिका–३ त्रिबेणी चोक नजिक खाली प्लटिङबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय नेत्र विनोद भट्टराईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
कपिलवस्तु, शुद्धोधन गाउँपालिका–१ सोहसाबाट नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याबलेट, नाइट्रोभेट १४ टयाब्लेटसहित कपिलवस्तु मायादेवी गाउँपालिक–१ पकडी बस्ने २० वर्षीय विष्णु गैरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी बहदीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा सोही गाउँपालिका–२ सानो नन्दनगर बस्ने ५१ वर्षीय रामनाथ अहिरबाट उक्त लागूऔषध किनेर ल्याएको भन्ने खुल्न आएपछि इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध स्पास्मो ९ सय ट्याब्लेट , नाइट्रोभेट १६ ट्याब्लेट, एसकोडिल १ सय एमएलको १ बोतल र नगद ४४ हजार ६० रुपैयासहित फेला पारी रामनाथलाई समेत पक्राउ गरेको छ।
कैलाली, धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
झापा, अर्जुनधारा नगरपालिका–११ स्थित गिरी बन्धु टि स्टेटको चिया बगानबाट लागूऔषध ब्राउनसुगर २ सय मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–४ बस्ने ३० वर्षीय शुसिल तामाङ र सुनसरी ईटहरी उपमहानगरपालिका–१७ बालग्राम बस्ने २६ वर्षिय भुवन गिरी रहेका छन्। थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध अर्जुनधारा नगरपालिका–११ बस्ने ४० वर्षीय बिनोद प्रधानसँग खरिद गरेको खुल्न आएपछि विनोदको घरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–५ जनकपुर–ढल्केबर सडकबाट लागूऔषध गाँजा करिब ९ केजीसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने ५० वर्षीय राज कुमार महतो र सोही नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज कुमार पण्डित रहेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ०६२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
सिरहा, धनगढीमाई नगरपालिका–१२ सरे खोलाबाट लागूऔषध गाँजा करिब १७ केजीसहित धनगढीमाई नगरपालिका–१२ गड्मे कुश्मा आले टोल बस्ने ४० वर्षीय ईन्द्र बहादुर ठकुरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यी सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post