काठमाडौं कात्तिक १५ गते ।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।
मंगलबार हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिटमा अब निरन्तर सुनुवाइ हुनेछ ।
चेतनको हत्यामा दोषी ठहर भएर सजाय काटिरहेका रिगललाई कैद मिनाहासहित रिहाइ गरेपछि आफ्ना पतिका हत्याराको कैद मिनाहाविरुद्ध भारती शेर्पाले गत असोज २२ मा सर्वोच्च रिट दायर गरेकी थिइन् ।
यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा बहस जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको थियो ।
यही प्रकारको मुद्दामा प्रधानन्यायाधीश श्रेष्ठले यसअघि महान्यायाधिवक्तालाई कैद मिनाहाको अधिकार रहेको भनी फैसला गरेको भन्दै प्रश्न उठाएपछि अर्कै पूर्ण इजलासमा सुनुवाइ हुने गरी मंगलबारको पेसी तोकिएको थियो ।
भारती शेर्पाले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशानस कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल ढकाललाई विपक्षी बनाएकी छन् ।
Discussion about this post