बाँके कात्तिक १६ गते ।
नेपालगन्जमा संचालन हुँदै आएको धारा नेपालगन्ज म्याराथनको नवौँ संस्करणकालागि तयारी अन्तिम चरणमा पुगेको छ ।
मंसिर ९ गते शनिबार हुने नवौं धारा नेपालगन्ज म्याराथनमा यसवर्ष पनि अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर सञ्चालन गरिने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ।
क्रियटिभ ह्याण्ड्सले बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टीएस ठकुरीले म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै गराइने बताए ।
नेपालगञ्ज म्याथनलाई थप आकर्षक बनाउन बिभिन्न क्षेत्रका दर्जन बढि सफल ब्यक्तित्वहरुको उपस्थितिमा एकदिने कनक्लेभ आयोजना गरिने उनले बताए । यस्तै म्याराथनको रिपोर्टिङका बिषयमा सञ्चारकर्मीहरुसँग पनि एक दिने अभिमुखीकरण कार्यक्रम गरिने अध्यक्ष ठाकुरीले बताए ।
क्रियटिभ स्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौ धारा नेपालगन्ज म्याराथनका लागि २०६० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला राखिएको ठकुरीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले धारा नेपालगन्ज म्याराथनले खेलजगतमा नयाँ आयाम ल्याएको बताए ।
उनले नेपालगन्ज म्याराथन प्रदेश खेलकुदको एक सम्पत्ति बनेको उल्लेख गर्दै यस्को प्रवर्धन र विकासको लागि प्रदेशले वार्षीक क्यालेण्डरमा समावेश गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने ‘नेपालगञ्ज म्याथन लुम्बिनी प्रदेशको गौरवको प्रतियोगिता हो, यसलाई प्रदेश सरकारले अब अपनत्व लिन्छ ।’ गत बर्षदेखि सुरु भएको लुम्बिनी म्याथन र नेपालगञ्ज म्याथन प्रतियोगितालाई प्रदेश सरकारले अपनत्व लिने बताउँदै सदस्य सचिव भट्टले पहिलो प्राथमिकतामा नेपालगञ्ज रहेको दाबी गरे ।
प्रदेश सरकारले गर्नुपर्ने कार्य नेपालगन्जमा एक संस्थाले गरिरहेको बताउँदै उनले त्यसकालागि म्याराथनका संस्थापक टीएस ठकुरी प्रति उच्च सम्मान प्रकट गरे ।
आयोजकका अनुसार यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरि विभिन्न १४ वटा विधामा प्रतिस्पर्धा समावेश गरिएको छ । स्कूलस्तरीयमा बाह्य जिल्ला र स्कूलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग-अलग स्पर्धा गराइनेछ ।
जसमा विभिन्न बिद्यालयबाट अति बिपन्न परिवारका ३०० बिद्यार्थीहरुकोलागि अमेरिकाको भर्जिनियामा बसोबास गर्ने नेपालीहरुले सहयोग गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन ४२.१९५ किमी, महिलातर्फ हाफ म्याराथन २१ किमी, १० किमी पुरुष र महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन ८ देखि १२ वर्ष उमेर समुह, ५ किमी कर्पोरेट रन ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा वाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ ।
त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५ किमी) सञ्चालन गरिनेछ ।
नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश एम्स वाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औ सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए ।
यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गरेको आयोजकको दाबी छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ५ मंसिर २०६३ को स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज स्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चौक र कोहलपुर चौराहामा क्रियटिभ ह्याण्ड्सले दीप प्रज्वलन समेत गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा म्याराथनका मुख्य प्रायोजक केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड, अर्का प्रायोजक चम्पालाल बोथरा लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post