बाँके कार्तिक ४ गते । ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नगदसहित बाँकेमा चार जना पक्राउ परेका छन् । ४४ ग्राम ३ सय ८० मिलीग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकसहित चार जना आइतवार बेलुका कोहलपुरमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडानं.९ का ३४ वर्षीय कृष्ण बुढा, सोही ठाउँका २१ वर्षीय सबिन चौधरी, नेपालगञ्ज १३ बस्ने २० वर्षीय सञ्जय लोनिया र भारतीय नागरिक कासिम शेषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुरस्थित धिताल पेट्रोलपम्प अगाडीबाट पक्राउ परेका बुढा र चौधरीको साथबाट १६ ग्राम ५ सय २० मिलीग्राम, नेपालगन्ज–२० मनिकापुरबाट पक्राउ परेका लोनियाको साथबाट १७ ग्राम ८ सय ६० मिलीग्राम र कोहलपुरको गोलपार्कबाट नियन्त्रणमा लिइएका शेषको साथबाट १० ग्राम ब्राउन सुगर र डिजिटल तराजु बरामद भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । चारै जनाको साथबाट १ लाख ३९ हजार १ सय ४० रुपयाँ नगद बरामद गरिएको उनले बताए । थप अनुसन्धानका लागि चारै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post