कर्णाली कात्तिक २८ गते ।
तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ ।
चिसो सिरेठोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरुका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित भइरहेका छन् ।
भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौ–धौ छ । यद्यपी, पालमुनी भए पनि बत्ती बालेर दीपावली सुरु भएको पहिचान भने दिएका छन् ।
भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो । यद्यपि भूकम्पबाट सिङ्गो जाजरकोट, रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन् ।
कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन् । कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन् । विस्थापित सबैको बास भनेकै पालमुनि हो । दसैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् ।
सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रङ्गौलीले सजिरहँदा भने भूकम्पपीडितले आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे । जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दीपावली गरेको तस्बिर अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ ।
तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंह दुखेसो पोखे । उनले भने, “नमरुञ्जेलसम्म आफ्नो संस्कृति र आस्था मार्ने कुरा त भएन तर आनन्दका साथ तिहार मनाउने अवसर भूकम्पका कारण गुमेको छ ।”
भेरी नगरपालिका जाजरकोट निवासी दिनेश सिंहले भूकम्पबाट भाग्यले बाँचिएको बताउँदै पालमुनिको तिहार मनाउन समस्या भएको बताए । “तिहार आफ्नो ठाउँमा छ बरु सरकारले चिसोमा कठ्याङ्ग्रिएका जनताको समस्यालाई छिटो बुझेर घरटहरा हालिदिएको भए हुन्थ्यो”, सिंहले भने, “तिहार त यसपटक मनाउन नपाए अर्को पटक आइहाल्ला । एकबारको जीवन बचाउनेतर्फ लाग्नुपर्यो ।”
जुनीचाँदे गाउँपालिकाका मनसरा रावतले फेरि भूकम्प आएर आएर जीवन सक्याउने हो कि भन्ने त्रासले तिहारको कुनै रमझम नभएको प्रतिक्रिया दिए । भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःनिर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने उनको भनाइ थियो । शुरबहादुर सिंह/रासस
Discussion about this post