बाँके मंसिर १६ गते ।
भारतबाट किनमेल गरेर फर्किदै गरेका सर्वसाधारणको सामान सशस्त्र प्रहरीले जवरजस्ती खोसेपछि जमुनाह–नेपालगन्ज सडक खण्डको चौलिका चोकमा बबाल भएको छ । अवैध चोरी पैठारी नियन्त्रणका लागि भनेर चौलिका चोकमा चेक पोष्ट बनाएको सशस्त्र प्रहरीले एक जना महिलाले ल्याउँदै गरेको सामान जवरजस्ती नियन्त्रणमा लिएपछि करिव एक घण्टा बबाल भएको हो ।
ति महिलाको समर्थनमा स्थानीय र सामान किनमेल गरेर फर्किदै गरेका यूवाको समुहले जमुनाहबाट आउने सवारी साधनलाई रोकेर सडक अवरुद्ध पारेका थिए । सशस्त्र प्रहरीले आफ्ना र तस्करीको सेटिङ लिएका ब्यक्तिलाई छाडेर सर्वसाधारणलाई दुख दिएको आरोप लगाएका थिए ।
सशस्त्र प्रहरीका घुमुवा असई सोमराज शर्माले तस्करको नाम जमुनाह, भन्सार र चौलिका चोकमा खटिने सशस्त्र प्रहरीलाई सूचना दिने र सोही सूचनाको आधारमा नाकामा खटिने सशस्त्र प्रहरीले लाइन लिएकालाई छाड्ने गरेका छन् । भारतबाट किनमेल गरेर फर्किने सवैलाई समान ब्यवहार गर्न ति यूवाको माग थियो । ‘लाइन लिएकालाई एउटा र नलिएकालाई अर्को ब्यवहार गर्न भएन, सवैलाई समान ब्यवहार र कानुन लगाउनु पर्यो,’ चौलिका चोकमा भेटिएका एक यूवाले भने, ‘यहाँ त पहुँचवालालाई मस्ती, नहुनेलाई सास्ती भएको छ ।’ सशस्त्र प्रहरीले महिलाका सामान जवरजस्ती खोस्न थालेपछि एकछिन लुछालुछ समेत भएको थियो ।
ति महिला सशस्त्र प्रहरीको ड्यूटी पोष्टसम्म पुगेर आफ्नो सामान नियन्त्रणमा नलिन हारगुहार गरेकी थिइन् । तर, उनको हारगुहार सशस्त्र प्रहरीले सुन्ने त के उनलाई लछारपछार गरेको थियो । ‘महिला र सशस्त्र प्रहरी वीच सामान लुछालुछ भएको देख्दा लाज लाग्यो, त्यो दृष्य देख्दा फिल्म जस्तै लाग्थ्यो,’ एक प्रत्यक्षदर्शीले भने ।
Discussion about this post