बाँके पुस ८ गते ।
बाँके जिल्ला अदालतमा नेपालगनजको एउटा सहकारीको ठगी समवन्ध मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छ । नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा भएको रकम हिनामिनाको विषयमा पुस ३ गतेदेखि सुरु भएको सुनुवाई अझै केही दिन लम्विने देखिएको छ ।
धेरै कानुन व्यवसायीको बहस हुनुपर्ने र फाइल पनि ठुलो भएकाले अझै केही दिन सुनुवाइ चल्ने जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको जानकारी दिए । एक हजारभन्दा बढी निक्षेपकर्ता र सेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।
जिल्ला सहकारी संघ बाँकेले समेत कारबाहीका लागि जाहेरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो अनुसन्धानपछि २०७६ असोज २९ गते सहकारी रकम हिनामिना, अपचलन, ठगी र सङ्गठित अपराधमा लीलाधर भन्ने लीलाप्रसाद वलीसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । विपक्षी बनाइएकामध्ये एक जनाको निधन भइसकेको छ । यो मुद्दामा ५६ करोड रुपियाँ मागदाबी गरिएको छ । चार वर्षदेखि चलिरहेको बहुचर्चित मुद्दामा पाँच जना थुनामा रहेका छन् ।
सहकारीका सञ्चालक र कर्मचारीको मिलेमतोमा बचतकर्ताको रकम हिनामिना भएको दाबी गरिएको छ । नेपालगन्जको पुरानोमध्येको यस सहकारीमा अधिकांश ग्रामीण क्षेत्रमा विपन्न समुदायका व्यक्तिको बचत रहेको छ । जिल्ला अदालतमा अन्तिम चरणको सुनुवाइ सुरु भएपछि पीडित बचतकर्ताहरू फैसला सुन्न केही दिनदेखि दिनभर अदालत परिसर पुग्ने गरेका छन् ।
Discussion about this post