बाँके माघ १५ गते ।
नेपालगन्ज भन्सार कार्यालयले जमुनाह नाकामा रहेको यात्रु शाखाबाट हुने कामकाज बन्द गरेको छ । यात्रु शाखाले सामानको भन्सार शुल्क लिँदा अनियमितता भएको फेला पारेपछि भन्सार कार्यालयले यात्रु शाखाबाट हुँदै आएको कामकाज बन्द गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले बताए ।
उनले घरायसी प्रयोजनका लागि भन्दै तस्करले सामान थोरै देखाएर धेरै सामान भित्र्याउन थालेपछि यात्रु शाखाको काम सोमवारदेखि बन्द गरिएको बताए । ‘यात्रु शाखाबाट भन्सार शुल्क लिँदा तस्करले चलखेल गर्ने र एउटा सामान देखाएर अर्को सामान लैजान थालेपछि यात्रु शाखाबाट लिँदै आएको भन्सार शुल्क लिन कार्य हटाइएको छ,’ उनले भने ।
उनले अव मुख्य भन्सार कार्यालयबाट मात्र भन्सार शुल्क लिइने बताए ।
‘अवदेखि सामानको जाँचपास र भन्सार शुल्क लिने कार्य मुख्य भन्सारबाट मात्र हुने छ । यात्रु शाखासम्म ल्याएको सामान जफत गरि भन्सार कार्यालयमा दाखिला गरिने छ,’ लम्सालले भने ।
यसअघि यात्रु र साइकल तथा मोटरसाइकलमा ल्याएका सामानको यात्रु शाखाबाट भन्सार शुल्क लिने गरिएको थियो ।
Discussion about this post