बाँके माघ २१ गते ।
आज विश्व क्यान्सर दिवस, क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
दिवसको अवसरमा बाँके स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले सचेतनामूलक प्रभातफेरी निकालेको छ । नेपालगन्जको गणेशमान चोकबाट सुरु भएको प्रभातफेरी मेडिकल कलेज, बीवी चोक हुदै धम्बोजी चोकमा पुगेर समापन भएको थियो ।
सो अवसरमा सहभागीहरुले क्यान्सरका बारेमा विभिन्न सचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । प्रभातफेरीमा अस्पताल विकास समितिका अध्यक्ष, चिकित्सक, नर्स, कर्मचारी लगायतको उपस्थिति थियो । अस्पतालले आज क्यान्सर रोग लागेर उपचार पछि निको भएकाहरुलाई सम्मान समेत गर्दैछ ।
विश्वमा सबैभन्दा धेरै मुत्यु गराउने रोगमध्ये प्रमुख रोग क्यान्सर हो। क्यान्सर बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहलाई लाग्ने रोग हो। यो रोग शरीरका जुनसुकै अंगमा लाग्न सक्ने चिकित्सकको भनाइ छ।
विश्वव्यापी रूपमा हेर्दा पुरुष र महिलाको हकमा फोक्सोको क्यान्सर र महिलाको हकमा पाठेघर र स्तनको क्यान्सर सबैभन्दा बढी मात्रमा लाग्ने गर्दछ। जीवनशैली र खानपानमा सुधार गरेर क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।
Discussion about this post