कालीकोट माघ २७ गते ।
कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिलेसम्म पानी नपरेका कारणले भोकमरी हुने चिन्ताले निराश हुन थालेका छन् । लामो समय पानी नपर्दा हिमाली तथा पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ र जौ उम्रिन सकेनन् ।
कात्तिकरमङ्सिरमा छरिएका गहुँ र जौ केही ठाउँमा छर्दाखेरिको चिसो माटोका कारणले उम्रिए पनि जहाँ सुक्खा जमिन थियो उक्त ठाउँमा अझै उम्रिएको छैन । माघ महिना सकिन लाग्दा पनि पानी नपर्दा यहाँका नागरिकले छरेको हिउँदे बाली सुकेर पहँेलो भएको छ । छिटफुट परेको पानीले बालीलाई केही पनि राहत नगरेपछि उम्रिएको गहुँ र जौ सुक्न थालेको कृषकको गुनासो छ ।
पलाँता–१ का छत्र कार्कीले आजसम्म पानी नपरेकाले भोकमरी हुने पक्का जस्तै भएको बताउनुभयो । जहिले पनि माघमा पर्ने पानीको आस हुन्थ्यो, यसपालि पानी नै नपरेका कारण पलाँतामा भोकमरीको समस्या हुने कार्कीको भनाइ छ ।
उहाँले भन्नुभयो, “हिउँदे बाली लगाउँदा रहेको चिसोको आँतले बाली हरियो जस्तै देखिए पनि भित्रबाट सुकेर पहेँलो हुँदै गएको छ ।” पलाँता–४ का जयमल बुढाले अब हिउँदे बालीको आस मरिसकेको बताउनुभयो । अहिलेसम्म पानी नपरेका कारणले राडुनेटा, खिन, मुजुवाडालगायतका बाली उत्पादन हुने क्षेत्र पूरै उजाड भइसकेको बुढाको भनाइ छ ।
Discussion about this post